कास्की क्रिकेट क्लबले पोखरामा जारी एकदिवसीय क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा कास्कीले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्कीले ५० ओभरमा आठ विकेट गुमाएर ३४९ रन बनाएको थियो। ३५० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको लेखनाथ २७.४ ओभरमा अलआउट हुँदै जम्मा ७६ रनमा समेटिन पुगेको थियो।
खेलमा कास्कीका लागि प्लेयर अफ द म्याचसमेत रहेका सोहिल कुँवरले शतक पूरा गर्ने क्रममा ९५ बलमा ११० रन बनाएका थिए। रोहित चन्दले २८ बलमा ५० रन र सहबुद्धिन अन्सारीले ३१ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका थिए। लेखनाथका लागि प्रताप थापाले १७, देवनारायण यादवले १० रन बनाउँदा टोलीका अन्य खेलाडीले दोहोरो अंक लिन सकेनन्।
लेखनाथका लागि सुवास बाँस्तोलाले १० ओभरमा ७५ रन खर्चेर सर्वाधिक तीन, कृपेश पौडेलले २ र सज्जन क्षेत्रीले १ विकेट हात पारे। कास्कीका विश्वास पराजुलीले आठ ओभर खेल्दै एक मेडनसहित १६ रन खर्चे। सर्वाधिक पाँच विकेट हात पार्दा रोहित चन्द र अर्जुन कुमालले समान १-१ विकेट हात पारे।
१६ माघसम्म सञ्चालन हुने प्रतियोगितामा १० क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताका विजेता क्लबले प्रदेशस्तरीय एकदिवसीय प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्नेछ। जारी प्रतियोगिता प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय प्रतियोगिताको जिल्ला छनोटसमेत हो।