उदयपुरमा ट्रक दुर्घटना, चालक र सहचालककाे मृत्यु

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण

उदयपुर भएकाे ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–७, अँधेरी खण्डमा आइतबार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार ट्रकचालक र सहचालकको मृत्यु भएको हो। 

उनले भने, ‘दुर्घटनाग्रस्त ट्रकबाट गम्भीर घाइते भएका चालक तथा सहचालक दुवैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ। दुवैजना पुरुष रहेका छन्। सनाखत हुन बाँकी छ। ट्रकमा दुईजना मात्र रहेको पाइएको छ।’ मृतक दुवैको शव जिल्ला अस्पतालमा राखिएको छ। 

स्याम्पुलगायतका सामान लोड गरिएको कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोस्ट संगमचोकबाट प्रहरी टोली खटिएर गई थप अनुसन्धान भइरहेको दोङले जानकारी दिए ।

सुझावित समाचार