नेकपाका केन्द्रीय सदस्य सिंहद्वारा पार्टी परित्याग

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय आयोजक समिति सदस्य गणेशप्रसाद सिंहले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

प्रतिनिधिसभा निर्वाचन २०८२ का उम्मेदवार छनोट गर्दा पार्टी विधान, सिद्धान्त र सामूहिक नेतृत्वको मर्मविपरीत निर्णय गरिएको भन्दै उनले पार्टी अध्यक्षसमक्ष असहमतिपत्र पेस गरेका हुन्।

सिंहले जिल्लास्तरमा सहमति र छलफलका आधारमा उम्मेदवार सिफारिस गरिएको भए पनि केन्द्रबाट जबर्जस्ती रूपमा निर्णय लादिएको आरोप लगाएका छन्। उनका अनुसार जाजरकोट जिल्ला पार्टीको २०८२ पुस १० गतेको बैठकमा क. शक्ति बस्नेतले आफू उम्मेदवार नबन्ने धारणा राखेका थिए र त्यसपछि सम्मानार्थ रूपमा शक्ति बस्नेतसहित रामदीप आचार्य, कृष्ण बी.सी., पार्वती थापा र महेश अधिकारीका नाम सिफारिस गरिएको थियो। तर, पछि केन्द्रबाट शक्ति बस्नेतलाई नै उम्मेदवार बनाउने निर्णय गरिएको सिंहको भनाइ छ। 'म उठ्ने मन छैन भन्ने भनाइ हुँदाहुँदै पनि टीका लगाएर आदेश दिने काम भयो,' उनले असहमतिपत्रमा उल्लेख गरेका छन्।

उनले उम्मेदवार छनोटको यो प्रक्रिया पार्टी एकता घोषणासभाबाट पारित अन्तरिम विधानको धारा ९९ विपरीत रहेको दाबी गरेका छन्। एउटै व्यक्तिबाट निरन्तर दबाब सिर्जना गरी निर्णय लादिनु स्वेच्छाचारी र मालिक मुखिया प्रवृत्तिको उदाहरण भएको भन्दै सिंहले कडा आपत्ति जनाएका छन्। 'यस्ता निर्णयले कार्यकर्तालाई रैती र दाससरह बनाउने प्रयास भएको छ, यो पार्टीको सिद्धान्त र सामूहिक नेतृत्वको मर्मविपरीत हो,' सिंहले पत्रमा भनेका छन्।

उम्मेदवार छनोट प्रक्रियाप्रति घोर असहमति जनाउँदै उनले केन्द्रीय आयोजक समिति सदस्यसहित पार्टीको साधारण सदस्यसमेत नरहने औपचारिक जानकारी दिएका छन्। साथै, पार्टीका लागि आफूले आजसम्म निर्वाह गरेका काममा कुनै त्रुटि भए आत्मालोचना गर्दै राजीनामासहित असहमतिपत्र पेस गरेको उल्लेख गरेका छन्। सिंहको पार्टी परित्यागलाई जाजरकोटको राजनीतिक वृत्तमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
 

सुझावित समाचार