उदयपुर र भाेजपुर जाेड्ने फेरी गुणस्तरहीन हुँदा यात्रुवाहक बस सुनकोशीमा डुब्यो

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा सञ्चालन हुँदै आएको फेरीबाट खसेर यात्रुवाहक बस सुनकाेशी नदीमा डुबेकाे छ । मापदण्डहीन अस्थायी फेरीको गम्भीर लापरबाहीका कारण यात्रुवाहक बस नदीमा डुबेको हाे ।

कुनै प्राविधिक परीक्षण, सुरक्षा मापदण्ड वा सरकारी स्वीकृतिविना सञ्चालन हुँदै आएको फेरीमार्फत बस तार्ने क्रममा दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । 

सुनसरीको इटहरीबाट भोजपुर जिल्लाको बालंखातर्फ जाँदै गरेको यात्रुवाहक बस सुनकोशी नदी पार गराउने क्रममा फेरी अचानक असन्तुलित भई बस नदीमा खसेको चौदण्डीगढी नगरपालिका– १, रानीटारका पूर्ववडाध्यक्ष रोइत तामाङका जानकारी दिए ।

उनका अनुसार फेरीले नियन्त्रण गुमाएपछि बस नदीमा डुबेको थियाे । उनले भने, ‘फलामको संरचनामा प्लास्टिकका ड्रम जोडेर बनाइएको उक्त फेरी जेनेरेटरको सहायताले लठ्ठा तानेर सञ्चालन गरिँदै आएको थियो । अत्यन्त जोखिमपूर्ण यस फेरीमार्फत बस, बोलेरो, ट्र्याक्टरलगायतका सवारीसाधन नियमित रूपमा वारिपारि गराउन बाध्य छाैँ । यसपटक दुर्घटना भए पनि मानवीय क्षति भएकाे छैन ’

उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीको रानीटार क्षेत्रमा मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा छ । ०७४ सालमै शिलान्यास भएको पुल समयमै सम्पन्न नहुँदा स्थानीयवासीहरू यही अस्थायी फेरी प्रयोग गर्न बाध्य हुँदै आएका थिए । फेरीबाट सवारीसाधन मात्र तारिने र यात्रुहरू भने झोलुंगे पुल हुँदै पैदल पार गरेर पुनः गाडी चढ्ने व्यवस्था गरिएको थियो । यही कारण आज आइतबारकाे दुर्घटनामा मानवीय क्षति हुन नपाएको स्थानीय अम्बेबर राईले जानकारी दिए । 

स्थानीयका अनुसार फेरी सञ्चालकले ट्र्याक्टरबाट चार हजार रुपैयाँ, बोलेरो तथा साना सवारीसाधनबाट एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म र यात्रुवाहक बसबाट तीन हजार पाँच सयदेखि चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका थिए । आज नदीमा डुबेको बस भने फेरी सञ्चालक रत्न तामाङकै स्वामित्वको रहेको जनाइएको छ ।

चौदण्डीगढी नगरपालिका– १, रानीटारका रत्न तामाङसहित केही स्थानीय व्यक्तिहरूले करिब २५ लाख रुपैयाँ लगानीमा फेरी सञ्चालन गर्दै आए पनि कुनै सरकारी निकायबाट अनुमति नलिइएको, न त नियमित अनुगमन गरिएको, न त आवश्यक सुरक्षा मापदण्ड नै पालना गरिएको पाइएको छ ।

यति ठुलो जोखिम हुँदाहुँदै पनि प्रशासन किन मौन रहेकाे भनेर स्थनीयले विराेध जनाउँदै आएका छन् । बस डुबेको यो घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग स्थानीकाे माग छ ।

सुझावित समाचार