बाराका चारै क्षेत्रबाट एमाले उम्मेदवारको टुंगो, टिकट वितरणमा ईश्वर पोखरेल खेमालाई पूर्ण उपेक्षा

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवारको अन्तिम निर्णय गरेको छ। शनिबार बसेको पार्टीको सचिवालय कमिटी बैठकले बारासहित देशभरका उम्मेदवारहरूको नाम टुंगो लगाएको हो।

एमाले स्रोतका अनुसार बारा क्षेत्र नम्बर १ बाट अच्युत मैनाली, क्षेत्र नम्बर २ बाट बलवीर चौधरी, क्षेत्र नम्बर ३ बाट ज्वालाकुमारी साह र क्षेत्र नम्बर ४ बाट किसान श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। तर, उम्मेदवार छनोट प्रक्रियालाई लिएर बारा एमालेभित्र गम्भीर असन्तुष्टि देखिएको छ। विशेषगरी क्षेत्र नम्बर ३ मा ज्वालाकुमारी साहलाई उम्मेदवार बनाइनु विवादको केन्द्रमा परेको छ। पार्टीका नेताहरूका अनुसार क्षेत्रीय कमिटीले साहको नाम सिफारिस नै गरेको थिएन।

एमाले स्रोतका अनुसार बारा क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिसका लागि आन्तरिक निर्वाचन भएको थियो। उक्त निर्वाचनमा केपी ओली पक्षकी साहले जम्मा चार मत मात्र प्राप्त गर्दै पराजय भोगेकी थिइन्, जसका कारण उनी सिफारिस प्रक्रियाबाट बाहिरिएकी थिइन्। यद्यपि, ओलीनिकट भएको आधारमा मात्रै उनलाई टिकट दिइनु पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर प्रहार भएको बारा एमालेका नेताहरूको आरोप छ।

त्यस्तै, पार्टी संकटको समयमा भूमिका खेलेका नेताहरूलाई बेवास्ता गरिएको भन्दै पनि असन्तुष्टि चुलिएको छ। प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० मा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिन अस्वीकार गरेका बलवीर चौधरीलाई यसपटक टिकट दिइएको छ।

तर, सोही समयमा पार्टीको साख जोगाउँदै निर्वाचन लडेका तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले भने यसपटक पनि कुनै क्षेत्रबाट टिकट पाउन सकेनन्। एमाले नेताहरूका अनुसार महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट सचिव पदमा उम्मेदवारी दिएका कारण पौडेललाई टिकट वितरणमा पूर्ण रूपमा उपेक्षा गरिएको हो।

टिकट वितरणमा देखिएको यो निर्णयले बारामा एमालेभित्र गुटगत राजनीति हाबी भएको संकेत दिएको नेताहरू बताउँछन्। उनीहरूका अनुसार यसले पार्टी संगठन, कार्यकर्ता मनोबल र आगामी निर्वाचन परिणाममा समेत नकारात्मक असर पार्न सक्ने चिन्ता बढेको छ।

सुझावित समाचार