कांग्रेसमा भएको नेतृत्व परिवर्तनलाई कसरी हेर्नुभएको छ ?
कांग्रेसमा जेजसरी नेतृत्व परिवर्तन भयो, त्यो कांग्रेस स्वयंका लागि मात्र नभई सिंगो नेपाली राजनीतिकै लागि सुखद खबर हो । कांग्रेसभित्रको यो परिवर्तनमार्फत रूपान्तरण र पुस्तान्तरणका पक्षधर युवाले यथास्थितिवादी वृद्ध पुस्तालाई जबर्जस्ती विस्थापित गरेका छन् । यसले भविष्यमा नेपाली राजनीतिमा सकारात्मक परिणाम दिने अपेक्षा गर्न सकिन्छ । आजको ‘पोलराइज्ड’ विश्वमा बाह्य दबाबको हल्लाले केही आतंकित पारेको भए पनि यसलाई नयाँ भर्सेस पुरानो पुस्ताबिच रूपान्तरण र पुस्तान्तरणको लडाइँ नै मान्न सकिन्छ । दलहरूमा युवा आवाज सुनिएन भने जतिसुकै राम्रा दल या नेता भए पनि पुराना शक्तिले यसैगरी विस्थापित हुनुपर्ने अवस्था आउन सक्छ भन्ने संकेत पनि यसले गरेको छ ।
यसले नेपाली राजनीतिमा पार्ने प्रभाव कस्तो होला ?
कांग्रेसमा भएको नेतृत्व परिवर्तन युवा भर्सेस वृद्ध या उमेर समूहबिचको लडाइँ त हो नै । साथसाथै, यसले समाजको अर्थ–राजनीतिक रूपान्तरण र कायाकल्पमा पनि भूमिका खेल्नुपर्छ । तर, त्यस दिशामा नयाँ नेतृत्व जान सक्छ कि सक्दैन, परिणाम हेर्न पर्खिनैपर्छ । हाम्रो समाजले आर्थिक, सामाजिक रूपान्तरण पर्खिरहेको छ । तर, दलहरूले त्यसबारे खासै चासो दिएको देखिन्न । त्यसैले, कांग्रेसको नयाँ नेतृत्वले यसतर्फ केही योगदान दिन सक्यो भने त्यो सकारात्मक नै हुनेछ । यसले लोकतन्त्रलाई थप मजबुत बनाएर संस्थागत गर्ने दिशामा पनि काम गर्न सक्ने सम्भावना देखिन्छ ।
यसबाट अन्य पार्टीमा पनि रूपान्तरण र पुस्तान्तरणका लागि दबाब पर्ला त ?
यसले अन्य दलमा पनि रूपान्तरण र पुस्तान्तरणको दबाब मज्जाले दिन्छ । अहिले घोषित २१ फागुनमै निर्वाचन भयो भने स्थापित भनिएका अन्य दलमा भुइँचालो जाने अवस्था छ । यस्तोमा उनीहरूलाई पनि आफ्नो धरातलीय यथार्थ मनन गर्न र अन्तरपार्टी रूपान्तरणमा यसले दबाब पक्कै दिनेछ ।