विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा मनाङ मस्र्याङ्दी क्लबलाई ५–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीको जितमा युवा खेलाडी नीराजन धामीले दुई गोल गरे । नवीन लामा, नवयुग श्रेष्ठ र कप्तान जिलेस्पीजंग कार्कीले समान एक गोल गरे । नयाँ क्लबको जिम्मेवारी पाएका बालगोपाल महर्जनले पहिलो खेलमै तीन अंक जोडेका छन् ।
यता, नेपाली फुटबलमा गर्विलो इतिहास बनाएको मनाङले भने लज्जास्पद सुरु गर्यो । टोली आर्मीविरुद्ध कुनै पनि समय दबाब बनाउन सकेन । आर्मीले पहिलो हाफमै दुई गोल दबाब सिर्जना गर्न सफल भयो । सहिद स्मारक ए डिभिजन लिग कीर्तिमानी आठपटक जितेको मनाङ पछिल्लो दुई वर्ष नेपाली फुटबलमा गुमनाम छ । टोलीले सहिद स्मारक ए डिभिजन लिग २०७९/०८० खेलेपछि कुनै पनि प्रतियोगितामा सहभागी भएन ।
कुनै समय राष्ट्रिय टिमका खेलाडीले भरिने मनाङ यसपटक भने राष्ट्रिय टिममा कुनै पनि खेलाडी समेट्न सकेको छैन । टोली राष्ट्रिय लिगमा सहभागी मात्रै हुने योजनामा छ । राष्ट्रिय लिगमा मनाङले तीनजना विदेशी खेलाडी भने अनुबन्ध गरेको छ । राष्ट्रिय लिगमा मनाङ र आर्मीसहित सहिद स्मारक ए डिभिजन लिगका १३ तथा प्रेसिडेन्ट लिगबाट छनोट भएका चार गरी कुल १७ टिम सहभागी छन् । लिग जित्ने टिमले एएफसीको क्लब च्याम्पियनसिप खेल्नेछ ।
चित्लाङको विजयी सुरुवात
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा चित्लाङ एफसीले राष्ट्रिय जनजागृति युवा क्लबलाई २–१ ले हराउँदै विजयी सुरुवात गर्यो । चित्लाङ प्रेसिडेन्ट लिगको उपविजेताको रूपमा राष्ट्रिय लिगको लागि छनोट भएको हो । चित्लाङको जितमा दुवै गोल विदेशी खेलाडी म्याथ्यु बाबातुन्डे ओलानवाजु र एडेयिन्का इलेसान्मीले गरे । नव जनजागृतिको लागि उदित नारायण चौधरीले एक गोल फर्काएका हुन् । खेलको २८औँ मिनेटमा म्याथ्यु बाबातुन्डे ओलानबाजुले चित्लाङलाई अग्रता दिलाए । आठ मिनेटपछि नै नवजनजागृतिका लागि उदितनारायण चौधरीले बराबरी गोल फर्काएका हुन् । सोलोमन एडेयिन्का इलेसान्मीले ६२औँ मिनेटमा विजयी गोल गरेका थिए ।
पुलिस प्लानिङसँग स्तब्ध
विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय लिगमा नवप्रवेशी प्लानिङ ब्वाइज युनाटेडसँग स्तब्ध भएको छ । लिगको आफ्नो पहिलो खेलमै प्लानिङले तीन अंक जोड्न सफल भयो । प्लानिङ सहिद स्मारक बी डिभिजनबाट ए डिभिजन लिगमा बढुवा भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शंकर थारूको गोल नै
निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा शंकलले खेलेको ५२औं मिनेटमा सुन्दर गोल गरेका थिए । बाँकी समय पुलिसले गोलका प्रयास गरेपनि सफल भए ।