- कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै, अदालतको आदेश नआउन्जेल चुनावमा नजाने रणनीति
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी धमाधम टुंग्याउन थालेका छन् । कतिपय दलले उम्मेदवार टुंग्याइसकेका छन् भने कतिपयले आइतबार बैठक बोलाएका छन् । मंगलबार उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका छ ।
ठुला दलमध्ये एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये शनिबार एकैपटक १४१ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । सात प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र गण्डकीका सबै क्षेत्रको टिकट तय भइसकेको र बाँकी क्षेत्रका टिकट अध्यक्षको परामर्शमा चाँडै टुंग्याइने उपमहासचिव लेखराज भट्टले बताए । त्यसबाहेक लुम्बिनीअन्तर्गत रुपन्देही १, २ र ४, कपिलवस्तु २, दाङ १ र २, बाँके २ र रुकुम पूर्वको मात्र टिकटको टुंगो लाग्न बाँकी छ । त्यस्तै, बागमतीअन्तर्गत काठमाडौं ४, ५, ७ र ९, काभ्रे २, ललितपुर ३, मधेशअन्तर्गत महोत्तरी ३ र सर्लाहीको १ र २, पर्साको १ र २ मा उम्मेदवारको टुंगो लाग्न बाँकी छ ।
त्यस्तै, कोशीमा ताप्लेजुङ, झापा ३, सुनसरी र मोरङ ५ र ६ मा उम्मेदवारको टुंगो लाग्न बाँकी छ । बाँकी रहेका क्षेत्रमा अध्यक्षले परामर्श लिएर टुंगो लगाइने उपमहासचिव भट्टले बताए ।
पदाधिकारीमध्ये उपमहासचिव योगेश भट्टराईले उठ्न चाहेको ताप्लेजुङको टिकट अध्यक्षले अन्तिम टुंगो लगाउनेछन् । त्यस्तै, सचिव राजन भट्टराईको काठमाडौं ४, पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को पनि उम्मेदवारको टुंगो लागेको छैन । पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्दै आएको काठमाडौं ५ को पनि टुंगो लाग्न बाँकी छ । त्यहाँ पोखरेलले खासै रुचि राखेका छैनन् । चितवन १ मा पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले रुचि नराख्दा कमलराज पाठकलाई उम्मेदवार बनाइएको छ ।
कांग्रेसका लागि नवनिर्वाचित सभापति गगन थापाले पार्टीको तल्ला कमिटीबाट सिफारिस भएका नामका आधारमा उम्मेदवार टुंग्याउने तयारी गरेका छन् । थापाले कुनै गुट वा व्यक्तिगत आग्रहलाई नमान्ने र परिणाममा केन्द्रित निर्णय हुने स्पष्ट पारेका छन् । उम्मेदवार चयनका लागि देउवालाई भेटेर नवनिर्वाचित सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले कुराकानी पनि गरेका छन् । तर, उनीहरूको प्रस्तावलाई देउवाले स्वीकार गरेका छैनन् ।
निश्चित मापदण्ड बनाएर आइतबारबाट छलफल सुरु गर्ने थापा नेतृत्वको समितिको तयारी छ । ‘हामी पार्टीका तल्ला कमिटीबाट निर्णयका लागि सिफारिस भएर आएका नामकै आधारमा प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउने तयारीमा छौँ,’ प्रवक्ता देवराज चालिसेले भने, ‘यस विषयमा सभापतिले परामर्श गरिरहनुभएको छ, आइतबार बैठक राखेर सबै क्षेत्रको उम्मेदवार टुंग्याउने तयारी छ ।’
उनले तलबाट आएका सिफारिस, उम्मेदवारबारे प्राप्त थप तथ्य र सूचनाहरूका आधारमा विनापूर्वाग्रह, गुट, अनुहार र आग्रह केही पनि नराखीकन परिणाम केन्द्रित भएर टिकट वितरण गरिनेसमेत प्रस्ट्याए । ‘हामी अब कुनै गुट, अनुहार हेर्दैनौँ, आग्रह, पूर्वाग्रह पनि राख्दैनौँ, परिणामलाई केन्द्रमा राखेर टिकट दिने निर्णय गर्छौँ,’ चालिसले भने । नयाँ नेतृत्व आए पनि पुरानो नेतृत्वलाई अवज्ञा गरेर उम्मेदवार छनोट नगर्ने भन्दै उनले सबै शीर्ष तहका नेताहरूलाई सम्मानसहित टिकट दिइने र अभिभावकीय भूमिकामा राखेर मात्र पार्टी सञ्चालित हुने पनि बताए ।
देउवा समूहले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिरहेको छ । अदालतको आदेश नआउन्जेल चुनावमा सहभागी नहुने रणनीति तय गरेको छ । ‘निर्वाचन आयोगको निर्णयकै आधारमा मात्रै हामी गगन थापालाई नेतृत्व मानेर चुनावमा भाग लिँदैनौँ, उनीहरूका उम्मेदवारलाई सहयोग पनि गर्दैनौँ,’ देउवानिकट नेताले भने, ‘सर्वोच्चले हामीलाई मान्यता दिन्छ भन्नेमा विश्वस्त छौँ, यदि मान्यता दिएन भने त्यसपछिको परिस्थिति अर्कै हुन्छ ।’
नेकपाले एकल सिफारिस भएर आएका उम्मेदवारलाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले टिकट बाँडिसकेका छन् । दुई वा दुईभन्दा बढी नाम आएका क्षेत्रमा भने सम्बन्धित प्रदेशका इन्चार्ज र एकता प्रक्रियामा सामेल भएका जिल्ला संयोजक तथा सहसंयोजकसँग परामर्श गरेर टुंग्याइने नेता बेदुराम भुसालले बताए । ‘आइतबारसम्म परामर्श गरेर टिकट वितरण गर्ने काम टुंगिसक्छ,’ भुसालले नयाँ पत्रिकासँग भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार टुंग्याउन आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकका मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचन र विविध विषय रहेका छन् ।
रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवार सिफारिसका लागि डा. स्वर्णिम वाग्लेको नेतृत्वमा समिति गठन गरिएको थियो । पार्टीका एक नेताका अनुसार यसअघि निर्वाचन जितेका नेताहरू सोही क्षेत्रबाट पुन: उम्मेदवार बन्ने तयारीमा छन् ।
मधेशकेन्द्रित दल आगामी निर्वाचनमा सम्भावित गठनबन्धनबारे छलफलमा छन्, तर सहमति जुटिसकेको छैन । जसपा नेपाल र लोसपा एकता भएर जसपा नेपाल बनेको छ । मधेशकेन्द्रित सबै दलसँग चुनावी गठबन्धनबारे छलफल जारी छ । ‘हामी छलफलमै छौँ । लोकतान्त्रिक मोर्चाका घटकसँग सिट टुंगो लागेको छैन । मोर्चामा एकताबद्ध भएर चुनाव लडौँ भन्ने सहमति छ । सिट बाँडफाँट गरेर जाँदा मोर्चाको राम्रो उपस्थिति हुने भएकाले हामी त्यसको तयारीमा छौँ,’ जसपा नेपालका सचिव शैलेन्द्र साहले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझसम्म १६५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याउने गरी छलफल जारी राखेको छ । प्रवक्ता मोहन श्रेष्ठले केही दिनदेखि बसिरहेको संसदीय समितिको बैठकले ९० भन्दा बढी क्षेत्रको उम्मेदवार टुंगो लगाएर टिकटसमेत वितरण गरिसकेको जानकारी दिए । ‘उपत्यका र आसपासका जिल्लासहित आइतबार साँझसम्म समितिले सबै क्षेत्रको उम्मेदवार टुंगो लगाउँछ,’ उनले भने ।
शीर्ष नेता को कहाँबाट उठ्दै छन् ?
आगामी निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरूको उम्मेदवारी क्षेत्र लगभग टुंगो लागेको छ । तल्लो तहबाट सिफारिस भएका नामअनुसार नै शीर्ष नेताहरू उम्मेदवार बन्ने तयारीमा छन् ।
एमाले : एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचन लड्ने तयारीमा छन् । उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही २, गोकर्ण विष्ट गुल्मी २ र पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार बन्ने भएका छन् ।
महासचिव शंकर पोखरेल दाङ २ बाट, उपमहासचिवहरू लेखराज भट्ट कैलाली ४, योगेश भट्टराई ताप्लेजुङ र रघुवीर महासेठ धनुषा १ बाट चुनाव लड्दै छन् । पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ र पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
नेकपा : नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचन लड्ने भएका छन् । सहसंयोजक माधवकुमार नेपाल रौतहट १ बाट उम्मेदवार बन्ने तयारीमा छन् । वरिष्ठ नेता झलनाथ खनालले भने चुनाव लड्ने वा नलड्ने निर्णय गरिसकेका छैनन् । उनको नाम बागलुङ २, सर्लाही १ र इलाम १ बाट सिफारिस भएको छ ।
वामदेव गौतम बर्दिया १, नारायणकाजी श्रेष्ठ सर्लाही ३, भीम रावल अछाम १, महिन्द्र राय यादव सर्लाही २ र वर्षमान पुन रोल्पाबाट निर्वाचन लड्ने तयारीमा छन् ।
हिमाल शर्मा काठमाडौं ६, सुमन सायमी काठमाडौं ८, अशेष घिमिरे झापा १, रञ्जित तामाङ झापा ५, त्रिलोचन भट्ट डोटी, नरेश भण्डारी जुम्ला, मनहरि शर्मा पर्वत, राजन दाहाल सिन्धुली २, लेखनाथ न्यौपाने गोरखा २ तथा दैलेखमा अम्मरबहादुर थापा र योगेन्द्र शाही उम्मेदवार बन्ने तयारीमा छन् । सर्लाहीबाट सुवास काफ्ले पनि चुनावी प्रतिस्पर्धामा रहने भएका छन् ।
चितवन ३ मा रेनु दाहाल, कञ्चनपुर १ मा विना मगर, २ मा लालबहादुर खड्का र ३ मा मानबहादुर सुनार उम्मेदवार बन्ने तयारीमा छन् । डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बैतडीबाट परमानन्द भट्ट र बाजुराबाट प्रकाश शाह पनि निर्वाचन लड्दै छन् ।
धादिङमा राजेन्द्र पाण्डे र गंगालाल तुलाधरले उम्मेदवारी दाबी गरेका छन् । उदयपुरमा जगन्नाथ खतिवडा र सुरेश राईमध्ये कसलाई टिकट दिने भन्ने विषयमा छलफल जारी छ ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले टिकट वितरण तीव्र रूपमा भइरहेको बताए । ‘चुनावको माहोल बन्दै छ । सर्वसम्मत रूपमा टिकट बाँड्दै आएका छौँ । नेकपा सबैभन्दा ठुलो पार्टी बन्छ,’ उनले पत्रकारहरूसँग भने ।
नेता डा. बेदुराम भुसालका अनुसार जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा सिफारिस भएका नाममध्ये एकल नाम सिफारिस भएकालाई टिकट दिइएको छ भने एकभन्दा बढी नाम भएका क्षेत्रमा प्रदेश इन्चार्जसँगको समन्वयमा निर्णय भइरहेको छ । जाजरकोटबाट शक्ति बस्नेत, रुकुम पश्चिमबाट गोपाल शर्मा, डोल्पाबाट धनबहादुर बुढा र सिराहा ४ बाट धर्मनाथ साह उम्मेदवार बन्ने तयारीमा छन् ।
उम्मेदवार टुंग्याउन रास्वपाको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार टुंग्याउन आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकका मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचन र विविध विषय रहेका छन् ।
रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवार सिफारिसका लागि डा. स्वर्णिम वाग्लेको नेतृत्वमा समिति गठन गरिएको थियो । पार्टीका एक नेताका अनुसार यसअघि निर्वाचन जितेका नेताहरू सोही क्षेत्रबाट पुन: उम्मेदवार बन्ने तयारीमा छन् । सभापति रवि लामिछाने चितवन २ बाट निर्वाचन लड्दै छन् ।
पार्टीले भावी सभापतिका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उपसभापति डिपी आर्याल काठमाडौं ९, स्वर्णिम वाग्ले तनहुँ १, महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा २ र प्रवक्ता मनीष झा सिराहा ३ बाट निर्वाचन लड्ने तयारीमा छन् ।
मधेशकेन्द्रित दल छलफलमा
मधेशकेन्द्रित दलहरू आगामी निर्वाचनमा सम्भावित गठबन्धनबारे छलफलमा छन् । जसपा नेपाल र लोसपा एकीकरणपछि बनेको जसपा नेपालले अन्य मधेशकेन्द्रित दलहरूसँग सिट बाँडफाँटबारे संवाद गरिरहेको जनाएको छ । जसपा नेपालका सचिव शैलेन्द्र साहका अनुसार लोकतान्त्रिक मोर्चाका घटकसँग सिट बाँडफाँट टुंगो लागेको छैन । ‘मोर्चाकम एकताबद्ध भएर चुनाव लड्ने सहमति छ । सिट बाँडफाँट भएपछि राम्रो उपस्थिति हुने अपेक्षा छ,’ उनले भने ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी १, २ र ३ बाट सिफारिस भएका छन् । उनी सप्तरी २ बाट निर्वाचन लड्ने तयारीमा छन् । ०७९ को निर्वाचनमा यादव यही क्षेत्रबाट पराजित भएका थिए । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सप्तरी २ बाटै उम्मेदवार बन्ने तयारीमा छन् ।
गठबन्धन भए यादव र राउतमध्ये एकजना सप्तरी ३ बाट उम्मेदवार बन्ने सम्भावना रहेको एक नेताले बताए । जसपा नेपालका नेता शरत्सिंह भण्डारी महोत्तरी २ बाट र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही २ बाट निर्वाचन लड्ने तयारीमा छन् ।
एमालेले टुंग्यायो अधिकांश उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन (प्रत्यक्षतर्फ)का एमाले उम्मेदवारको नामावली


योगेश भट्टराईको फरक मत
टिकट वितरणमा उपमहासचिव योगेश भट्टराईले फरक मत राखेका छन् । त्यसका तीन आधार उनले प्रस्तुत गरेका छन् । उम्मेदवार छनोटको मापदण्ड नै नबनाएर छनोट गरिएको, पछिल्लो अवस्था/बाह्य अवस्थालाई अजरअन्दाज गरिएको र आन्तरिक एकतालाई थप कमजोर बनाउने गरी टिकट बाँडिएको उनको भनाइ छ ।
पछिल्ला दुई निर्वाचन ताप्लेजुङबाट जितेका भट्टराईको टिकटको टुंगो लागेको छैन, अध्यक्ष केपी ओलीले टुंग्याउने सूचीमा राखिएको छ । शनिबारको सचिवालय बैठकपछि भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आग्रह गर्दछु । हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’
टिकट वितरणमा ईश्वर खेमालाई बेवास्ता
टिकट वितरणमा ईश्वर पोखरेल खेमालाई पूरै बेवास्ता गरिएको छ । गत मंसिरको ११औँ महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका पोखरेल समूहका गोकर्ण विष्टले मात्र टिकट पाएका छन् । महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले टिकट पाएनन् भने उपमहासचिव योगेश भट्टराईको टिकट होल्ड गरिएको छ । सचिवका प्रतिस्पर्धी विनोद ढकाल, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटाले टिकट पाएनन् । गैरेको निर्वाचन क्षेत्र पाल्पा २ मा उपाध्यक्ष विष्णु पौडेलले टिकट पाएका छन् । त्यस्तै, पोखरेल समूहका नेताहरू गणेश पहाडी, झपट रावल, एलपी सावा, महेश बस्नेत (इलाम), जय राई, पुरुषोत्तम पौडेल, कृष्ण राई, अमिरबाबु गुरुङ, मनबहादुर गुरुङ, रत्न गौतम, बालकृष्ण सुवेदीले पनि टिकट पाएनन् ।
कांग्रेस उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई
कांग्रेसले आगामी निर्वाचनका लागि टिकट वितरण प्रक्रियामा सहजीकरण गर्न प्रदेशस्तरीय पदाधिकारीलाई जिम्मेवारी दिएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले विगतमा सिफारिस भएका नेताहरूको समीक्षा गर्दै सबैलाई समेटेर उम्मेदवारको सूची तयार गर्न पदाधिकारीहरूलाई जिम्मा दिने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य अजय शिवाकोटीले नयाँ पत्रिकासँग भने, ‘संसदीय बोर्डमा सबै पदाधिकारीहरू हुनुहुन्छ । विगतमा क्षेत्रदेखि जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामबारे समीक्षा गर्ने र सर्ट लिस्टिङका लागि सहजीकरण गर्न प्रदेशगत रूपमा पदाधिकारीलाई जिम्मा दिइएको छ ।’
कोशी प्रदेशमा उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री डिना संग्रौला पन्तलगायतलाई जिम्मा दिइएको छ । मधेश प्रदेशमा सहमहामन्त्री फर्मुल्लाह मन्सुर र मुक्ता यादव, बागमतीमा महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदयशमशेर राणा, सहमहामन्त्री बहादुरसिंह लामा तथा नेताहरू अर्जुननरसिंह केसी र राजन केसी, गण्डकीमा महामन्त्री प्रदीप पौडेल, प्रवक्ता देवराज चालिसे र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्री योगेन्द्र चौधरी, प्रदेश सभापति अमरसिंह पुनले सहजीकरण गर्नेछन् ।
कर्णाली प्रदेशमा सहमहामन्त्री कर्ण बुढालगायतका नेता छन् भने सुदूरपश्चिमको जिम्मा सहमहामन्त्री प्रकाश रसाइलीले पाएका छन् । उनीहरूले उम्मेदवारहरूको सूची समीक्षा गरेर सिफारिस गर्नेछन् ।