कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर्ने भएका छन् । साथै, उनले देउवा समूहको बैठकमा अब सहभागी नहुनेसमेत स्पष्ट पारेका छन् ।
उनी थापालाई पार्टी सभापति स्वीकार गरेर देउवा समूहसँग समन्वय गर्ने भूमिकामा लाग्ने शेखर पक्षधर नेता दिनेश कोइरालाले बताए । ‘अब शेखर दाइ अन्य समूहको बैठकमा जानुहुन्न । निर्वाचन आयोगले दिएको म्यान्डेटका आधारमा गगन थापालाई पार्टी सभापति स्वीकार गरेर देउवा समूहसँग समन्वय गर्ने भूमिकामा उहाँ लाग्नुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचनमा स्वयं चुनाव लड्नुहुन्न,’ दिनेशले भने ।
डा. शेखरले निर्वाचन आयोगको निर्णयसँगै देउवा समूहको बैठकमा नजाने बताएका हुन् । बुधबारको सानेपा बैठकमा शेखर समूहका जीवन परियार र दिनेश कोइराला उपस्थित थिएनन् । शेखर समूहले आइतबार दिउँसो १ बजे आफ्ना उपलब्ध नेताहरूको बैठक बोलाएको छ ।
यसैबिच डा.शेखरले सडक आन्दोलनको निर्णय रोकेका छन् । सानेपामा औपचारिक बैठक बस्नुअघि उनले आफ्नो समूहका नेताहरूको बैठक राखेर विशेष महाधिवेशनको आधिकारिकतालाई कानुनी प्रक्रियाबाट हेर्ने बाटो खुला रहेको र हाल सडक आन्दोलन आत्मघाती हुने बताएका थिए ।
‘निर्वाचन आयोगले मान्यता दिइसकेको अवस्थालाई स्वीकार गरेर हामी चुनावमा जानुपर्छ । इच्छुक साथीहरूले पार्टीकै उम्मेदवारका रूपमा रुख चिह्न र चारतारे झन्डासहित निर्वाचनमा भाग लिनुपर्छ । विशेष महाधिवेशनको प्रक्रियामा न्यायिक व्याख्याका लागि अदालत जान सकिन्छ, तर वर्तमान परिस्थितिमा पार्टी एकतामा केन्द्रित हुनुपर्छ,’ पूर्व केन्द्रीय सदस्य दिनेशले नयाँ पत्रिकासँग भने ।
शेखरले बैठकमा विशेष महाधिवेशनमा सहभागी ५४ प्रतिशतको आधिकारिकता भेरिफाई गर्नुपर्नेमा जोड दिँदै भनेका थिए, ‘५४ प्रतिशत कसले भेरिफाई गर्यो ? त्यसकारण न्यायिक उपचार उचित हुन्छ । तर, सडक संघर्षमा जाने वा नयाँ पार्टी खोल्ने गल्ती गर्नुहुँदैन ।’
देउवा पक्ष आज सर्वोच्च जाँदै
कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगले शुक्रबार टुंग्याए पनि असन्तुष्ट देउवा पक्ष आधिकारिकता दाबी गर्दै आइतबार सर्वोच्च अदालत जाने भएको छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णय अस्वीकार गर्दै कानुनी लडाइँमा जाने निर्णय गरेको हो ।
मुद्दा–मामिलाको जिम्मा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । ‘आयोगको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा–मामिला एवं अन्य कानुनी काम–कारबाही गर्न निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गरिएको छ,’ देउवा समूहका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले भने । देउवानिकट वरिष्ठ अधिवक्ता खम्मबहादुुर खाती, शेरबहादुर केसीलगायतको टिमले तयार गरेको रिट आइतबार सर्वोच्चमा दर्ता गर्ने देउवा समूहको तयारी छ ।
बैठकले गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिने आयोगको निर्णय नेपालको संविधान, प्रचलित कानुन, राजनीतिक दलसँग जोडिएका कतिपय विवादहरूको निरूपण गर्दा निर्वाचन आयोगकै विगतका निर्णयहरूबाट स्थापित नजिरहरू, कांग्रेसबाट निरन्तर रूपमा गरिएका पार्टीको निर्णयसँग सम्बन्धित पत्राचार र बुझाइएका प्रमाणहरूलाई बेवास्ता गरिएको आरोप लगाएको छ । ‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्यासमेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दूषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ,’ महतले भने, ‘देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय प्रस्ट देखिन्छ । यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो ।’
देउवा समूहको औपचारिक बैठकअघि अनौपचारिक छलफलमा नेताहरूको मत बाझिएको थियो । ‘एकथरी साथीहरूले त अदालतको निर्णय हाम्रो पक्षमा नआउन्जेल हामी विधिवत् रूपमा निवर्तमान भएका छौँ भन्ने कुरालाई आत्मसात् गरौँ भन्नुभयो । अर्काथरीले चाहिँ निर्वाचन आयोगको निर्णयलाई नमान्ने भनिसकेपछि निवर्तमान भएका छैनौँ, अदालतले नै निर्णय गरेपछि मात्रै निवर्तमान हुन्छौँ भन्ने धारणा राख्नुभयो,’ देउवानिकट एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने ।
नेता शेखर कोइरालाले निवर्तमान कार्यवाहक सभापति खड्कासहितका नेतासँग अनौपचारिक छलफल गरेपछि खड्काले बैठकमा सडक आन्दोलनको एजेन्डा पेस गरेनन् । उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगले फरक निर्णय गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी सार्वजनिक गरेका थिए । ‘कार्यवाहक सभापतिले कानुनी उपचार खोज्ने प्रस्ताव राख्नुभयो, सबैले ताली बजाएर समर्थन गर्यौँ । आन्दोलनको कुरा आएन,’ देउवानिकट ती नेताले भने । त्यसपछि देउवा समूहले आयोगको निर्णयविरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
कोइरालाले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस फेरि मिल्ने जिकिर गरे । ‘नेपाली कांग्रेस फेरि मिल्छ, हामीले मिलाउनुपर्छ । आपसी संवादबाट नै कांग्रेसको विवाद सल्टिने हो,’ कोइरालाले भने, ‘हामी मिलाउँछौँ ।’
कांग्रेस बैठक : पूर्ण एकतासाथ निर्वाचनमा सहभागी हुन आह्वान
कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले पूर्ण एकतासाथ निर्वाचनमा सहभागी हुन शेरबहादुर देउवा समूहसहित सबैमा आह्वान गरेको छ । निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको उल्लेख गर्दै बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिएको छ ।
संस्थापनले संसदीय बोर्डमार्फत उम्मेदवार चयनको मापदण्ड बनाउने र देउवा समूह तथा डा. शेखर कोइराला समूहलाई पनि समेटेर उम्मेदवार तय गर्नेभएको छ । ‘यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समितिहरू र सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले बैठकपछि भने ।
बैठकले पार्टीबाट निष्क्रिय रहेका, पार्टी छाडेका नेता–कार्यकर्तालाई पुन: पार्टीमा जोडिन आह्वानसमेत गरेको चालिसेले बताए । संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवालगायत नेताहरूले कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्याएको योगदानको उच्च कदर गरेको छ । देउवाको अभिभावकीय भूमिकाको पनि कांग्रेसले अपेक्षा गरेको चालिसेले बताए ।
मतभेद बिर्सौँ, एकता कायम गरौँ : सभापति थापा
कांग्रेस सभापति गगनकुमार थापाले विगतका तिक्तता र मतभेद बिर्सेर कांग्रेसलाई बलियो बनाउन सबैलाई आह्वान गरेका छन् । ‘निर्वाचन आयोगको निर्णय लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएकाले यसलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प छैन । हामी पार्टीभित्रका अग्रज नेताहरूको अनुभव र नयाँ युवाहरूको ऊर्जालाई जोडेर अघि बढ्न प्रतिबद्ध छु,’ निर्वाचन आयोगले मान्यता दिएपछि आयोजित केन्द्रीय समिति बैठकअघि थापाले सञ्चारकर्मीसँग भने, ‘निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका पार्टीका लागि आवश्यक छ । म एक–दुई दिनभित्रै सिंगो कांग्रेस एक ठाउँमा उभिने वातावरण बताइरहेको छु । मलाई विश्वास छ, तपाईंहरूले त्यो परिस्थिति देख्न पाउनुहुनेछ ।’
उनले ६ माघसम्म प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने समयको चाप रहेको उल्लेख गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने बताए । ‘आन्तरिक एकता नै अहिले पार्टीको मुख्य शक्ति हो । सभापतिज्यूले अब मुद्दा–मामिलातिर नलाग्न सबैलाई आह्वान गर्नुहोस् भन्ने हाम्रो आग्रह छ,’ थापाले भने ।
देउवासँग कांग्रेस सभापति र उपसभापतिको भेट
कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले शनिबार पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग देउवानिवास महाराजगन्जमा भेटवार्ता गरेका छन् । उनीहरूबिच शिष्टाचार भेट भएको र पार्टी सुदृढीकरणबारे छलफल भएको कांग्रेस महामन्त्री गुरुराज घिमिरे र प्रवक्ता देवराज चालिसेले नयाँ पत्रिकासँग बताए । ‘सभापतिज्यूले निवर्तमान सभापतिज्यूसँग भेटवार्ता गर्नुभएको हो । नेताहरूसँग हुने यस्ता भेटहरू नियमित प्रकारका हुन् । सभापतिज्यूले अन्य नेताहरूसँग पनि भेट्नुहुनेछ,’ प्रवक्ता चालिसेले नयाँ पत्रिकासँग भने, ‘आफ्नै नेतासँगको शिष्टाचार भेट हो ।’ सभापति थापाले निर्वाचन आयोगको निर्णय स्वीकार गरेर पार्टीलाई एकताबद्ध हुन सबैलाई आह्वान गरिदिन निवर्तमान सभापति देउवासँग शनिबार सार्वजनिक रूपमा आह्वान गरेका थिए ।
निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको नयाँ केन्द्रीय समितिलाई मान्यता दिँदै कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेपछि सभापति थापा र निवर्तमान सभापति देउवाबिच भएको पहिलो भेटवार्ता हो । उनीहरूबिच पछिल्लो भेट बुधबार भएको थियो । त्यही दिन थापा, शर्मा र तत्कालीन सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई देउवा समूहले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो । त्यही राति विशेष महाविधेशनको बन्दसत्रले थापालाई पार्टीको सभापति निर्वाचित गरेको थियो । बन्दसत्रले थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।
सुजाताले भनिन्– परिवर्तनलाई आत्मसात् गरौँ, पार्टी फुटेको छैन
कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेसमा नेतृत्व परिवर्तनलाई खुसीसाथ स्वीकार गर्न कांग्रेसको असन्तुष्ट पक्षलाई आह्वान गरेकी छिन् । शनिबार भिडियो सन्देश जारी गर्दै कोइरालाले पार्टी सभापति गगन थापालाई बिपीको विचार तथा गिरिजाप्रसाद कोइरालाको संगठनलाई नबिर्सन पनि आग्रह गरेकी छिन् । ‘देशमा धेरै परिवर्तन आएको छ । कांग्रेसमा पनि परिवर्तन आएको छ । पार्टी फुटेजस्तो मलाई अनुभूति भएको छैन । नयाँ सभापति आउनुभएको छ, अलिक छिटो आउनुभयो त्यत्ति मात्रै फरक हो,’ कोइरालाले भनिन्, ‘तपाईं अगाडि बढ्नुहोस् । कांग्रेसलाई राम्रो गर्नुस् । सम्पूर्ण कांग्रेसले तपाईंलाई साथ दिनेछ । पार्टी फुटेको छैन, दिक्क नमान्नुस्, परिवर्तनलाई खुसीसाथ स्विकार्नुस् ।’