सप्तरीको सुरुंगा नगरपालिका–१ मा रहेको शिशुवारी क्याम्पसको स्तरोन्नतिका लागि स्थानीयसमेत रहेका प्रतिष्ठित उद्योगपति वीरेन्द्र न्यौपानेले एक करोड रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्।
१४ वर्षदेखि चन्दाको भरमा चलिरहेको क्याम्पसमा शिशुवारीसहित छिमेकी जिल्लाका बहुसंख्यक छोरीबुहारीहरू पढ्दै आएका छन्। क्याम्पस हाल सञ्चालन भइरहेकाबाहेकका विषयसमेत अध्ययन अध्यापनका लागि उद्योगपति न्यौपानले दिवंगत श्रीमती कमला न्यौपानेको नाममा उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन्।
घरायसी आर्थिक अवस्था, पारिवारिक समस्यालगायतका कारणले गाउँबाहिर बसेर अन्य विषय पढ्न नसकिरहेका युवा, छोरीबुहारीहरूका लागि सहयोग राशिले ठुलो राहत पुग्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष छत्रबहादुर राउत (राजकुमार)ले बताए। क्याम्पसले स्थापनादेखि नै शिक्षा संकायतर्फ चारवर्षे स्नातक तह सञ्चालन गरिहेको छ। सहयोगपछि वाणिज्यसहित अन्य विषय पनि सम्बन्धन लिने अध्यक्ष राउतले बताए। उनका अनुसार दाताले क्याम्पसको स्तरोेन्नतिका लागि भविष्यमा पनि आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएकाले सञ्चालक समितिसहित स्थानीय अभिभावकको भेलाले क्याम्पसको नाम परिवर्तन गरी ‘शिशुवारी कमला न्यौपाने क्याम्पस’ राख्ने निर्णय पनि छ ।
सुरुंगा–२ का पूर्ववडाध्यक्ष राजन थापाले बाल्यकाल शिशुवारी क्षेत्रमै बिताएका उद्योगपति न्यौपानेले घोषणा गरेको आर्थिक सहयोगले आगामी दिनमा क्याम्पस चलाउन घरदैलो चन्दा संकलन अभियान चलाउनुपर्ने बाध्यता हटेको बताए।
ग्रामीण क्षेत्रको अब्बल क्याम्पस
१५ साउन ०६९ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपाली, अंग्रेजी र जनसंख्या विषयमा औपचारिक पठनपाठन सुरु गरेको क्याम्पसबाट अहिलेसम्म नौ ब्याचमा तीन सय चारजना छोरीबुहारी र १९८ जना युवाले स्नातक तह उत्तीर्ण गरी सकेका छन्। कैयनले विभिन्न पेसा व्यवसायसहित शिक्षण, निजामती सेवामा नाम निकालेको क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाले बताए। उनका अनुसार क्याम्पसमा छिमेकी उदयपुरको त्रियुगा, रौतामाई, उदयपुरगढी, बेलका, लिम्चुङबुङ, मोरङको लेटाङ, सुनसरीको इटहरीलगायतका बहुसंख्यक छात्रा पढिरहेका छन्।