कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले शनिबार पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। देउवानिवास महाराजगन्जमा उनीहरूको भेट भएको हो।
कांग्रेस महामन्त्री गुरुराज घिमिरे र प्रवक्ता देवराज चालिसेले उनीहरूको भेट भएको बताए। निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको नयाँ केन्द्रीय समितिलाई मान्यता दिँदै कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेपछि सभापति थापा र निवर्तमान सभापति देउवाबिच भएको पहिलो भेटवार्ता हो।
उनीहरूबिच पछिल्लो भेट बुधबार भएको थियो। त्यही दिन थापा, शर्मा र तत्कालीन सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई देउवा समूहले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो। त्यही राति विशेष महाविधेशनको बन्दसत्रले थापालाई पार्टीको सभापति निर्वाचित गरेको थियो। बन्दसत्रले थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो।
‘सभापतिज्यूले निवर्तमान सभापतिज्यूसँग भेटवार्ता गर्नुभएको हो। नेताहरूसँग हुने यस्ता भेट नियमित प्रकारका हुन्। सभापतिज्यूले अन्य नेताहरूसँग पनि भेट्नुहुनेछ,’ प्रवक्ता चालिसेले भने, ‘आफ्नै नेतासँगको शिष्टाचार भेट हो।’