प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय धनकुटाले आयोजना गरेको कार्यक्रममा जिल्ला अदालत धनकुटाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले कार्यालयको औपचारिक उद्घाटन गरे।
धनकुटा नगरपालिका–५ स्थित सामुदायिक भवनमा स्थापना गरिएको उक्त कार्यालय आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत इङ्नामले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलको जिम्मेवार भूमिका आवश्यक रहेको बताए। उनले निर्वाचन प्रक्रियामा कानुनको पूर्ण पालना गर्न आग्रह गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनबिच समन्वय अपरिहार्य रहेको उल्लेख गरे। सो अवसरमा जिल्लामा सक्रिय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आगामी निर्वाचनका लागि आफूहरू तयारी अवस्थामा रहेको जनाउँदै निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उद्घाटन कार्यक्रममा सुरक्षा निकायका प्रमुख, कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।