पुस महिनामा सल्यानबाट विभिन्न अभियोगमा फरार रहेका १३ प्रतिवादी पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका १३ जना प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पक्राउ पर्नेमा शारदा नगरपालिका–१० का मेघराज कुँवर, दार्मा गाउँपालिका–१ का चक्रबहादुर खड्का, दार्मा–१ कै विमला खड्का, दार्मा–५ का महेश खड्का, छत्रेश्वरी गाउँपालिकाका–६ का टीकाराम भण्डारी, दार्मा–४ की अन्जना शाह, बनगाड कुपिन्डे नगरपालिका–३ का धने नकाल, शारदा नगरपालिका–१३ का खेलबहादुर रावत र कमला वली रावतलगायत छन्।
पक्राउ पर्नेहरू सवारी ज्यान, बैंकिङ कसुर, बहुविवाह, हाडनाता करणीलगायतका मुद्दामा सल्यान जिल्ला अदालतले कैद तथा जरिवाना सजाय फैसला गरेका रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले जानकारी दिए। उनीहरू एक वर्षदेखि ११ वर्षसम्म फरार रहेका र पक्राउ परेका सबैलाई करागार चलान गरिएको उनको भनाइ छ।