साबिक विजेता नीरज तामाङले शुक्रबार सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका छन् । नेपालका नम्बर एक गल्फर नीरजले लगातार दोस्रोपटक उपाधि जित्ने क्रममा पार ७० को धरान गल्फ क्लबमा अन्तिम राउन्डमा तीन अन्डर ६७ को कार्ड बनाए । उनले समग्रमा ५४ होलको खेल १५ अन्डर एक सय ९५ को लोभलाग्दो स्कोर गरेका छन् । उनले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ६ स्ट्रोकले पछि पार्दै करिअरकै चौथो उपाधि जिते । उपाधिसँगै नीरजले एक लाख ७० हजार रुपैयाँ प्राप्त गरे ।
राहुलले अन्तिम दिन दुई अन्डर ६८ खेल्दै समग्रमा नौ अन्डर दुई सय एक स्कोर गरी दोस्रो स्थान रक्षा गरेका छन् । अनुभवी गल्फर बलभद्र राईले समग्रमा ६ अन्डर दुई सय चारको स्कोरसहित प्रोफेसनलतर्फ दोस्रो भएका छन् । उनले एक लाख २५ हजार रुपैयाँ जितेका छन् । दिनेश प्रजापतिले चार अन्डर दुई सय ६ को स्कोर गरी प्रोफेसनलमा चौथो स्थान हात पार्दै एक लाख रुपैयाँ पाए ।
टंकबहादुर कार्की (७१) र पूर्व नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटी (६९) ले तीन अन्डर दुई सय सातको स्कोरसहित चौथो स्थान बाँडे । पूर्वशीर्ष खेलाडी रवि खड्काले एक अन्डर दुई सय नौको स्कोरसहित प्रोफेसनलतर्फ छैटौँ स्थान रक्षा गरे । एमेच्योरतर्फ पदमहाङ लिम्बूले अन्तिम राउन्डमा तीन अन्डर ६९ खेल्दै दुई सय ११ को स्कोरसहित उपविजेता बने ।
फ्रन्ट र ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन
उपाधि रक्षा गर्ने क्रममा नीरजले फ्रन्ट नाइनमा तीन अन्डर ३३ स्कोर गरेका थिए । उनले दोस्रो, तेस्रो र चौथो होलमा लगातार बर्डी प्रहार गरे । ब्याक नाइनमा उनले १०औँ, १३औँ, १४औँ र १५औँ होलमा बोगी खेपेका थिए । त्यसपछि ११औँ, १२औँ, १६औँ र १८औँ होलमा उनले बर्डीको सफलतामा इभन पार ३४ खेलेका थिए । दोस्रो स्थानमा रहेका राहुलले फ्रन्ट नाइनको तेस्रो, छैटौँ र नवौँ होलमा बर्डी निकाले । उनले सातौँ होलमा बोगीसहित दुई अन्डर ३४ स्कोर गरेका थिए । उनले ११औँ होलमा बोगी र १८औँ होलको बर्डीले ब्याक नाइन इभन पार ३४ को कार्ड बनाए ।
स्थानीय खेलाडी बलभद्रले आठ बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा दुई अन्डर ३४ र ब्याक नाइनमा तीन अन्डर ३१ स्कोर गरेका थिए । उनले दोस्रो, तेस्रो, चौथो र आठौँ होलमा बर्डी प्रहार गरेका थिए । बलभद्रले ब्याक नाइनमा १५औँ होलमा एक सट खेर फाले पनि ११औँ, १२औँ, १७औँ र १८औँ होलमा बर्डी प्रहार गरेका थिए । पिजिए नेपालद्वारा सूर्य नेपाल प्रालिको प्रायोजनमा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रोफेसनल र २२ एमेच्योर गरी कुल ५२ खेलाडीले सहभागिता जनाएका थिए ।