सिन्धुलीको एसबिआई बैंकको शाखामा भएको लुटपाटको मुख्य योजनाकार बैंक रहेको घरका धनी छविलाल स्याङ्तान रहेको प्रहरीले सार्वजनिक गरेको छ । घटनाको विषयमा जानकारी दिन शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक लालध्वज सुवेदीले उनीहरूले तीन महिनाअघिदेखि नै योजना बनाएको खुलाए।
गत असोजमा नै घरधनीले बैंक लुट्ने प्रयास गरेको अनुसन्धानको क्रममा छविलालले प्रहरीसमक्ष बताएका छन् । ‘बैंक लुट्नका लागि उनले दुईवटा मोटरसाइकलमा असोजमा नै लुटेरा समूह ल्याए पनि अनुकूल नभएपछि त्यसवेला विफल भएको देखिन्छ,’ एसपी सुवेदीले भने ।
छविलालाई प्रहरीले बर्दीबासबाट पक्राउ गरेको थियो। अर्का योजनाकार छविलालका जेठान चतुरमान बज्यू जंगलमा लुकेर बसेको अवस्थामा माघ १ गते पक्राउ परे। दुई योजनाकारसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एकजना १६ वर्षीय बालकसमेत छन्। अन्य अभियुक्तहरूमा गाडीचालक काभ्रेको बनेपा नगरपालिका– १० का ४९ वर्षीय भागवतसिंह थापा, घ्याङलेक गाउँपालिका– २ का ४७ वर्षीय चतुरमान बज्यू, चितवन भरतपुर महानगरपालिका– २ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका– ५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर छन्। अझै एकजना अभियुक्त फरार रहेको एसपी सुवेदीले बताए। गाडीचालकको मिलेमतो रहे–नरहेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

लुटिएको तीन करोड १० लाख ९५ हजार रुपैयाँमध्ये दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूले लुटपाट गर्न प्रयोग गरेको नक्कली पेस्तोल, खुकुरी, हातखुट्टा बाँध्न प्रयोग गरेको टेप, डोरी, कालो टोपी, पञ्जालगायतका सामानहरूसमेत बरामद गरेको छ । प्रहरीले लुटेराहरूले प्रयोग गरेको बिएडी ०३९८ नम्बरको टाटा सुमोसमेत नियन्त्रणमा लिएको छ ।
काभ्रेको बनेपाबाट उनीहरू बैंक लुट्न रिजर्भको गाडी लिएर त्यहाँ पुगेका थिए। नक्कली पेस्तोल देखाई कर्मचारीलाई नियन्त्रणमा लिएर सेफ खोल्न लगाई लुटपाट गरेका थिए। गाडीमै भाग्ने योजना भए पनि उनीहरू लुटपाटपछि जंगलतर्फ भागेका थिए ।