नवीन कांग्रेसको सुरुवात भयो, एकताबद्ध भएर अघि बढौँ : विश्वप्रकाश शर्मा

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय आगामी दिनका लागि समेत ऐतिहासिक नजिर कायम भएको बताएका छन् ।

आयोगको निर्णयपछि फेसबुक लाइभमा प्रतिक्रिया जनाउँदै शर्माले भनेका छन्, ‘कांग्रेस बिशेष महाधिवेशन आयोजना गर्न दूरदराजका गाउँमा, परदेशमा बसेर जो साथीहरूले हस्ताक्षर गर्नुभयो, माग गर्नुभयाे उहाँहरू सबैलाई बधाई दिन चाहन्छु । विधिवत प्रक्रियाअनुसार जे भएको छ, यसलाई नवीन नेपालका लागि नवीन कांग्रेसको सुरुवातका रूपमा लिनुपर्छ । कांग्रेसमा कसले झन्डा चुनाव चिह्न प्राप्त गर्ने भन्ने दाबी पनि रहे । विशेष महाधिवेशनको पक्षमा निर्णय आएमा आन्दोलन गर्छौँ भन्ने पनि कुरा आए । आवेगका कुरा पनि भए होलान् । पार्टीका सबै अग्रज नेताहरूलाई सविनय निवेदन गर्न चाहन्छौँ, इतिहासको घडीमा विधि र प्रक्रियाको यो घडीमा पुरानो आवेगका कुरा बिर्सनुपर्छ । एकताबद्ध भएर अघि बढ्नुपर्छ । उम्मेदवारी चयनसम्बन्धी प्रक्रिया अघि बढिसकेको छ ।’ उनले उम्मेदवारका बारेमा विधिवत् निर्णय गर्ने पनि बताए । ‘सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस हुनुभएको छ, छुट्याउनुभएको छ । मिलाउनुपर्ने कहाँ छ, मिलाउनुपर्नेछ । भोलि बैठकमा साथीहरूको तयारी विवरणलाई हेरेर कांग्रेसको कामको गति अघि बढाउनेछौँ । विशेष महाविधेशनलगत्तै माघेसंक्रान्ति बिहान बैठक बसेर निर्वाचन परिचालन समिति, घोषणापत्र लेख्ने समिति, संसदीय बोर्डका बारेमा निर्णय भइसकेको छ । आयोगबाट अद्यावधिकको काम सकिएपछि नवीन सुरुवातको क्रममा जानेछौँ,’ शर्माले भने । अब पुरानो च्याप्टरलाई छाडिदिन शर्माले अनुरोध गरेका छन् । जिल्ला सभापति, प्रदेश सभापतिहरूलाई पनि आवेगको विषय नबनाउन, पार्टीलाई एकजुट बनाउन अनुरोध गरेका छन् । केन्द्रमा रहेका नेताहरूलाई व्यक्तिगत रूपमा सम्पर्क गरेर, सार्वजनिक रूपमा अपिल गरेर कांग्रेस यहाँसम्म आउन उनीहरूले दिएको योगदानको स्मरण गर्ने पनि उल्लेख गरेका छन् ।

सुझावित समाचार