बेवारिसे अवस्थामा सल्यानबाट ६ नाल भरुवा बन्दुक बरामद

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सल्यानले ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्लाको त्रिवेणी गाउँपालिकाको एक सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेका ६ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।

त्रिवेणी गाउँपालिका– ५ स्थित शान्ति सुरक्षा सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले जानकारी दिए। उक्त बन्दुक कसले, कुन उद्देश्य र कहिलेदेखि राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

बरामद भएका बन्दुकबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। प्रहरीका अनुसार अवैध रूपमा लुकाइछिपाइ हतियार राखेको र ती हतियार वन्यजन्तुको चोरी सिकारी गर्न प्रयोग भएको हुन सक्ने आशंका छ।

आगामी निवर्चानलाई लक्षित गर्दै अवैध हातहतियार तथा बन्दुकको खोजीकार्य अभियानलाई तीव्र पारिएको सूचना अधिकारी केसीको भनाइ छ। निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र निष्पक्ष बनाउन प्रहरी लागिपरेको उनले बताए।

प्रहरीले गत मंसिरमा पनि अवैध रूपमा लुकाइछिपाइ राखेका ३३ नाल भरुवा बन्दुक बरामद गरेको थियो।

सुझावित समाचार