२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि अछामको मंगलसेनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम मंगलसेनमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
त्यस्तै, क्षेत्र नम्बर १ को साँफेबगरमा पनि निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। दुई निर्वाचन क्षेत्र रहेको अछाममा मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीश रोशनकुमार भट्टराई खटिएका छन्। त्यस्तै साँफेबगरमा निर्वाचन अधिकृतका रूपमा भोला रेग्मीलाई खटाइएको छ। रेग्मी सर्वाेच्च अदालतका इजलास अधिकृत हुन्।
मुख्य निर्वाचन अधिकृत भट्टराई र निर्वाचन अधिकृत रेग्मीसहित अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, गोरख बक्स गणका गणपति प्रमुख सेनानी राजु महर्जन, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर थापा र जिल्ला निर्वाचन अधिकारी रामदीन चौधरीसहितको सरकारी टोलीले दुवै क्षेत्रमा पुगेर निर्वाचन कार्यालय स्थापना गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामले जनाएको छ।
कार्यालयका अनुसार निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित शुक्रबारदेखि नै सम्पूर्ण तयारीसमेत थालिएको छ।