वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै उद्यम सञ्चालन गरिरहेका नागरिकलाई सरकारले सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा काम गरी स्वदेश फर्किएका र यहाँ उद्यमशील गतिविधिमा संलग्न भएका उद्यमीलाई राष्ट्रिय स्तरको सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको जनाएको छ।
सूचनाअनुसार प्रकाशित मितिले २१ दिनभित्र मन्त्रालयको सूचना प्रविधि तथा तथ्यांक शाखामा आवेदन दर्ता गर्नुपर्नेछ। साथै, आवेदन फाराम स्क्यान गरी मन्त्रालयको आधिकारिक इमेलमार्फत पनि पठाउन सकिने व्यवस्था गरिएको छ।
कार्य भिसामा विदेश गई कम्तीमा ११ वर्ष रोजगारी गरेका र नेपाल फर्किएपछि कम्तीमा एक वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएका उद्यमीहरू यस सम्मानका लागि आवेदन दिन योग्य हुने मन्त्रालयले स्पष्ट पारेको छ।