पूर्वसांसददेखि विद्यार्थी नेता माओवादी कञ्चनपुरका उम्मेदवार

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले  उम्मेदवार सिफारिस गरेको छ। नेकपा (माओवादी)ले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको जनाएको छ। नेकपा माओवादी जिल्ला इन्चार्ज विष्णुप्रकाश उपाध्याय (विराट)ले तीनै निर्वाचन क्षेत्रबाट पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको बताए। इन्चार्ज विराटका अनुसार क्षेत्र नम्बर १ बाट रामबहादुर सिंह, पुरन राना (थारू), नन्दबहादुर बुढा, क्षेत्र २ बाट भरत बम (रणवीर), लोकेन्द्र विक, करने धामी र क्षेत्र ३ बाट विष्णुप्रकाश उपाध्याय (विराट), प्रकाश जप्रेल र वीरेन्द्र लुहारलाई सिफारिस गरेको छ । 

नेकपा विप्लव कञ्चनपुरबाट उम्मेदवारमा सिफारिस भएका पूर्वसांसददेखि जेन–जी युवा पूर्वविद्यार्थी, किसान नेता रहेका छन् । क्षेत्र १ बाट सिफारिस भएका सिंह किसान नेता, राना पूर्वसांसद हुन् । राना ०६४ मा सम्पन्न भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र १ बाट निर्वाचित सांसद हुन् । राना तत्कालीन नेकपा माओवादी केन्द्रबाट संविधान सभा सदस्यमा बहुमतका साथ निर्वाचित भएका थिए ।

 क्षेत्र २ बाट दलित समुदायका अगुवा लोकेन्द्र विक र ३ बाट सिफारिस भएका विद्यार्थी पृष्ठभूमिका तथा विद्यार्थी नेता रहेका रहेका छन् । उपाध्याय र लुहार पूर्वअखिल क्रान्तिकारीका नेता हुन् । उपाध्याय तत्कालीन माओवादी केन्द्रनिकट क्रान्तिकारीबाट ०६४ सालमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन तत्कालीन सिद्धनाथ  बहुमुखी क्याम्पस स्ववियु कोषाध्यक्ष एवं सुदूरपश्चिम विश्वविद्यालय स्थापनार्थ नेता हुन्।

विद्यार्थी नेता जप्रेल अखिल समाजवादीका केन्द्रीय महासचिव हुन्। उनी सुदूरपश्चिम विश्वविद्यालय स्थापनार्थ, कृत्रिम ग्यास कालोबजारीविरुद्धमा सशक्त आन्दोलन गरेका थिए। अखिल राष्ट्रिय स्तरमै विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्दै आएका छन्। लुहार पनि पूर्वविद्यार्थी नेता हुन्। अखिल क्रान्तिकारी पूर्वजिल्ला अध्यक्ष रहेका लुहार विद्यार्थीको हकहितका क्षेत्रमा कामकाज गर्दै आएका छन्। 
 

सुझावित समाचार