पार्टी सभापतिका रूपमा गगन थापाका चुनौती के–के देख्नुहुन्छ ?
जीवनमा चुनौती सबैका हुन्छन् । त्यति ठुलो पार्टीको नेतृत्व गर्दै गर्दा सभापतिका रूपमा गगन थापासामु पनि चुनौतीका पहाड खडा हुनेछन् । गगनप्रति पार्टीका नेता, कार्यकर्ता र जनताको अपार समर्थनसँगै भरोसा र अपेक्षा पनि छ । ती अपेक्षा सम्बोधन गर्नु पनि उनको चुनौती हो । गगनको टिम आशालाग्दो छ । गगन–विश्वको जोडीको ‘रेकर्ड’ राम्रो छ । उनीहरूलाई ‘करप्सन’को दाग लागेको छैन । दुवै प्रखर वक्ता हुन् । दुवैमा ‘डाइनामिक’ नेतृत्व क्षमता छ । त्यसैले, आफ्नो भिजनअनुसार इमानदारीपूर्वक काम गरे भने आफूसामु आएका चुनौतीका पहाड पन्छाएर अघि बढ्न कठिन छैन ।
वैधानिकता नपाएमा आसन्न निर्वाचनमा सहभागिताको सम्भावना कति देख्नुहुन्छ ?
अहिलेसम्मको अवस्था हेर्दा कांग्रेसको विशेष महाधिवेशनले नै वैधानिकता पाउने सम्भावना बढी देखिन्छ । तर, कथम् वैधानिकता नपाएमा गगन–विश्वसँग विगतमा गिरिजाप्रसादले निष्कासन गरेको समयमा शेरबहादुरले अर्को पार्टी खोलेर गएजस्तै नयाँ पार्टी दर्ता गरेर जाने सुविधा छँदै छ । अहिले उनीहरूले पार्टी फुटाएका होइनन्, संस्थापन भनिएको समूहको हठका कारण पार्टी फुटेको हो । यस्तो अवस्थामा उनीहरूले प्राविधिक कारणले आसन्न २१ फागुनको निर्वाचनमा भाग लिन पाएनन् भने पनि निर्वाचन बहिष्कार गर्नचाहिँ हुँदैन । स्वतन्त्र हैसियतमै भए पनि निर्वाचनमा भाग लिनुपर्छ ।
सभापति थापामा पार्टीभित्रका विभाजित मनलाई जोडेर लान सक्ने खुबी कति देख्नुहुन्छ ?
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दियो भने पार्टीको झन्डा र रुख चिह्नका कारण सबै नेता, कार्यकर्ता गगन–विश्वकै नेतृत्वमा एकाकार हुन आउँछन् । मान्यता नपाएमा नयाँ पार्टी बनाएरै जाँदा पनि नयाँ अनुहार, नयाँ आकर्षण र नयाँ उत्साह यतै छ । गगन–विश्व विनम्र छन्, भद्र र शालीन छन् । उनीहरूमा आक्रोश र गालीगलोज छैन । त्यसैले, यिनीहरू विभाजित मनलाई समेत जोडेर जान सक्छन् जस्तो लाग्छ ।