नेपाली राष्ट्रिय महिला फुटसल टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित निकालेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलोपटक आयोजना गरेको फुटसलमा नेपालसहित सार्कका सातै देशको सहभागिता छ । साफले यो प्रतियोगितालाई बृहत् बनाउने योजनासहित थाइल्यान्डको बैंककमा प्रतियोगिता आयोजना गरेको हो । नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई ५–० ले पराजित गर्यो । नेपालको जितमा जेनिफर रानामगरले दुई गोल गरिन् । यसैगरी, विमला चौधरी र मनीषा थापामगरले समान एक गोल गरे । माल्दिभ्सले नेपाललाई एक गोल आत्मघाती उपहारका रूपमा प्रदान गरेको थियो ।
नेपालको ऐतिहासिक जितमा महत्वपूर्ण योगदान गरेकी जेनिफरले राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित भएको बताइन् । ‘देशको प्रतिनिधित्व गर्न पाउँदा निकै गौरवान्वित छौँ । अहिले हाम्रो टिमको तालमेल राम्रो छ,’ जेनिफरले भनिन्, ‘धेरै राम्रो खेलेका छौँ । त्यसैले पहिलो जित निकाल्न सफल भयौँ । आगामी सबै खेलमा राम्रो खेल्दै जानेछौँ ।’
यसअघि नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय फुटसल स्पर्धामा डेब्यु गर्दा श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । नेपालले श्रीलंकाविरुद्ध अन्तिम समयमा बराबरी गोल सामना गरेको थियो । नेपालले २–१ को अग्रता रक्षा गर्न सकेन । नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । माल्दिभ्स लगातार दोस्रो खेलमा पराजित भएको छ । माल्दिभ्सले पहिलो खेलमा भारतसँग ११–१ ले पराजित भएको थियो । दक्षिण एसियाली फुटबल महासंघले यस प्रतियोगिता आयोजना गर्दा सातै देश सहभागी गराएको हो । पछिल्लो समय महिला फुटबलमा कमजोर प्रदर्शनपछि माल्दिभ्स र श्रीलंका अन्तर्राष्ट्रिय फुटबलमा सहभागी भएनन् । तर, महासंघको दबाबपछि यसपटक यी दुवै राष्ट्र फुटसलमा सहभागी भएका छन् । भारत र पाकिस्तानबिचको राजनीतिक द्वन्द्वका कारण पुरुष फुटबलमा दुईमध्ये एक टिम सहभागी हुनै छाडेका छन् । त्यसैले यसपटक प्रतियोगिता थाइल्यान्डमा लैजाँदै साफले सातै टोलीलाई सहभागी गराएको छ ।
पहिलो हाफमा नेपालको चार गोलको अग्रता
नेपाललाई महत्वपूर्ण ३ अंक दिलाउने क्रममा जेनिफरको प्रदर्शन अब्लल रह्यो । प्रतियोगितामा विमला चौधरी र मनीषा थापामगरले तीन गोल गरेका छन् । श्रीलंकाविरुद्ध विमला र मनीषाले गोल गरेका थिए । नेपालले कमजोर माल्दिभ्सविरुद्ध पहिलो हाफमा चार गोल गरेको थियो । दोस्रो हाफमा माल्दिभ्सको बलियो रक्षापंक्तिका कारण नेपालले केवल एक गोल मात्र थप्न सक्यो । प्रशिक्षक विक्रम महर्जनले कप्तान दीपा राईसहित गोलरक्षक सावित्री किसन, अलासमा मनीषा थापामगर र अनिता केसी तथा पिभोटमा जेनिफरलाई जिम्मा दिएका थिए । जेनिफरले खेलको चौथो मिनेटमै नेपाललाई १–० को अग्रता दिलाइन् । खेलको ११औँ मिनेटमा विमलाले नेपाललाई २–० को अग्रता दिलाइन् । खेलको १२औँ मिनेटमा जेनिफरले नेपालको अग्रता ३–० पुर्याउँदा व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् । खेलको १७औँ मिनेटमा जेनिफरलाई बक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो । मनीषाले सहजै पेनाल्टीमा गोल गर्दैै नेपाललाई ४–० को बलियो स्थितिमा राखिन् । निर्धारित समय सकिनै लाग्दा फथिमाथ सैनाले आत्मघाती गोल गरेपछि नेपाल ५–० को सहज जित निकाल्यो ।
पुरुषतर्फ नेपाल पहिलो खेल खेल्दै
पुरुषतर्फ भने नेपालले पहिलो खेल शुक्रबार श्रीलंकासँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो २ बजे बैँककमै हुनेछ । नेपाल पहिलो खेलमै ३ अंक जोड्ने योजनामा छ । साफमा पहिलोपटक पुरुष तथा महिला फुटसल भए पनि नेपालले एएफसीले आयोजना गर्ने फुटसलमा भने सहभागी हुँदै आइरहेको छ । प्रतियोगितामा नेपालले पहिलो खेल खेल्दा तीन खेल भइसकेका छन् । श्रीलंका पहिलो जितको खोजीमा छ । माल्दिभ्सले पाकिस्तानलाई ७–१ ले हराउँदा पहिलो खेलमा श्रीलंका भुटानसँग अंक बाँड्न बाध्य भएको थियो । श्रीलंका र भुटानले ३–३ को बराबरी खेलेका थिए ।
दोस्रो खेलमा तालमेल निकै राम्रो भयो : जेनिफर रानामगर, खेलाडी, नेपाल
साफ फुटबल च्याम्पियनसिपमा धेरै राम्रो खेलेका छौँ । नेपाल ऐतिहासिक रूपमा पहिलो जित निकाल्न सफल भयो । मलाई विश्वास छ– नेपालले आगामी सबै खेलमा राम्रो खेल्दै ३ अंक जोड्नेछ । अहिले टिमको तालमेल राम्रो छ । टिम बलियो छ । देशको प्रतिनिधित्व गर्न पाउँदा सबै गौरवान्वित छौँ ।