राष्ट्रिय लिग २०८२ : लालीगुराँसले हरायो ‘ए’ डिभिजन क्लब जावलाखेललाई

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

नवप्रवेशी लालीगुराँस एसोसिएसन क्लबले बिहीबार राष्ट्रिय लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबलाई १–० ले स्तब्ध पारेको छ । एन्फा प्रेसिडेन्ट कप विजेता लालीगुराँसले ‘ए’ डिभिजन लिगकै अनुभवी क्लबविरुद्ध पहिलो भेटमै जित हात पारेको हो । लालीगुराँसको जितमा राज भुसालले एक मात्र निर्णायक गोल गरेका थिए । जितसँगै लालीगुराँसले ३ अंक प्राप्त गरेको छ । तीन वर्षपछि घरेलु फुटबलमा फर्किएको जावलाखेलले सुखद सुरुवात गर्न सकेन । 

खेलको दोस्रो मिनेटमै राजले लालीगुराँसलाई १–० को अग्रता दिलाएका थिए । उनले लछु थापाले प्रहार गरेको फ्रिकिकमा गोल गरेका हुन् । खेलको ३२औँ मिनेटमा जावलाखेलका सुजन गुरुङको फ्रिकिकमा धर्वेन्द्र कुँवरको हेडिङ गोलपोस्टनजिक हुँदै बाहिरिएको थियो । खेलको ३७औँ मिनेटमा जावलाखेलले बराबरी अवसर गुमाएको थियो । लालीगुराँसका स्कन्दर सिद्दिखोनोबले फल गरेपछि जावलाखेलले डिबक्सनजिकमा फ्रिकिक प्राप्त गरेको थियो । जावलाखेलका दीपेन्द्र विकले फ्रिकिक सदुपयोग गर्न सकेनन् । 

खेलको ४२औँ मिनेटमा जावलाखेलका अनिल रानामगरको प्रहार पहिलो बार नजिक हुँदै बाहिरिएको थियो । खेलको ५६औँ मिनेटमा लालीगुराँसका सचिन गुरुङले सहज अवसर गुमाएका थिए । खेलको अन्तिम इन्जुरी समयमा धर्वेन्द्रले गरेको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिशले उत्कृष्ट बचाउ गरे । 

सातदोबाटो र संकटाले खेले बराबरी
राष्ट्रिय लिगमा सातदोबाटो युथ र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोका प्रशिक्षक बालगोपाल साहुखलले सेन्टर स्ट्राइकरको आवश्यकता रहेको बताए । उनले लिगमा राम्रो नजिता निकाल्न विदेशी खेलाडी आवश्यक भएको जनाए । संकटाका प्रशिक्षक रवीन्द्र सिलाकारले अंक नगुमाउने रणनीतिमा सफल भएको बताए । ‘पहिलो खेलमा अंक नगुमाउने रणनीति बनाएका थियौँ । जुन सफल भयो,’ सिलाकारले भने, ‘मिडफिल्ड तथा फिनिसिङ लाइनमा सुधार गर्नुपर्छ ।’ सातदोबाटोमा राष्ट्रिय टोलीबाट खेलिसकेका युवा स्ट्राइकर समीर तामाङदेखि सुरजजिउ ठकुरी, विश्वास श्रेष्ठ, अभिषेक बराल र कुलदीप कार्कीले प्रतिस्पर्धा गरेका थिए । यसैगरी घरेलु फुटबलका अनुभवी खेलाडी एकराज बुढाथोकी र रोशन पहारीले पनि सातदोबाटोलाई गतिलो सुरुवात दिलाउन सकेनन् । संकटाको कप्तानी गोलरक्षक टिकेन्द्र थापाले गरेका थिए । राष्ट्रिय लिगमा यो दोस्रो बराबरी खेल हो । चार खेल सकिँदा पहिलोपटक गोल भएन । 

सातदोबाटोका मुख्य प्रशिक्षक बालगोपालले फिटनेस र इन्जुरीको समस्या भएको बताए । ‘हामी सेन्टर स्ट्राइकर र विदेशी खेलाडी थप्ने योजनामा छाैँ,’ उनले भने, ‘आउने खेलहरूमा प्रदर्शनमा सुधार गर्दै उपाधि जित्ने नै योजना छ ।’ संकटाका मुख्य प्रशिक्षक सिलाकारले डिफेन्समा दुई विदेशी राखेको बताए । ‘मिडफिल्ड र स्ट्राइकर लाइनमा अझ काम गर्नुपर्ने देखिन्छ । एक विदेशी खेलाडी थप्ने योजना छ,’ उनले भने । 
 

सुझावित समाचार