सूर्य नेपाल इस्टर्न ओपन : साबिक विजेता नीरजलाई ५ स्ट्रोकको अग्रता

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण
  • नीरज तामाङले बिहीबार ६ अन्डर ६४ को उत्कृष्ट स्कोर गर्दै एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पारे

साबिक विजेता नीरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपनमा ५ स्ट्रोकको अग्रता लिएका छन् । धरान गल्फ कोर्समा बिहीबार नेपालका नम्बर १ प्रोफेसनल गल्फर नीरजले दोस्रो दिन ६ अन्डर ६४ को उत्कृष्ट स्कोर गर्दै एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि परे । नीरजले समग्रमा १२ अन्डर १२८ लोभलाग्दो प्रदर्शन गरेका छन् । राहुलले समग्रमा ७ अन्डर १३३ स्कोर गर्दै दोस्रो स्थान बलियो बनाएका छन् ।

समग्रमा ४ अन्डर १३६ को स्कोरमा धरानका प्रोफेसनल शुक्रबहादुर राई र टंकबहादुर कार्की संयुक्त रूपमा तेस्रो स्थानमा छन् । शुक्रले ३ अन्डर ६७ र टंकले १ अन्डर ६९ स्कोर गरे । ४ अन्डर ६६ खेल्दै दिनेश प्रजापति पाँचौँ स्थानमा रहेका छन् । रवि खड्का, भुवन नगरकोटी तथा बलभद्र राईले समग्रमा १ अन्डर १३९ स्कोर गर्दै संयुक्त रूपमा छैटौँ स्थान बाँडे । समग्रमा २ ओभर १४२ स्कोरका साथ दुई एमेच्योर पदमहाङ लिम्बू र प्रकृत तामाङ संयुक्त रूपमा नवौँ स्थानमा रहे ।

लगातार दोस्रो दिन पनि नीरजको उत्कृष्ट प्रदर्शन
शीर्ष स्थानका नीरजले आफ्नो घरेलु कोर्समा लागातार दोस्रो दिन ६ अन्डर खेल्ने क्रममा दोस्रो, तेस्रो, पाँचौँ, छैटौँ, आठौँ र नवौँ होलमा बर्डी निकाले । उनले बोगी फ्री ६ अन्डर ३० मा फ्रन्ट नाइनको खेल सानदार शैलीमा सकाए । ११औँ होलमा पनि एक सट बचाएका उनले १५औँ होलमा बोगी सामना गर्दा ब्याक नाइन इभन पार ३४ को स्कोर गरेका थिए । राहुलले बोगीरहित कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३ अन्डर ३३ र ब्याक नाइन पनि ३ अन्डर ३१ स्कोर गरेका थिए । 

उनले समग्रमा ६ बर्डी निकाल्न सफल रहे । शुक्रले दोस्रो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरेका थिए । उनले चौथो र पाँचौँ होलमा समान एक सट खेर फाल्दै फ्रन्ट नाइन १ अन्डर ३५ स्कोर गरे । त्यसपछि १२औँ र १५औँ होलमा बर्डी खेल्दै उनले ब्याक नाइन २ अन्डर ३२ स्कोर गरे । टंकले दोस्रो होलको बोगीका विरुद्ध पहिलो र सातौँ होलमा बर्डी खेले । जसका कारण उनी फ्रन्ट नाइन १ अन्डर ३५ स्कोरमा रोकिए । ११औँ, १४औँ र १५औँ होलको बोगीको सहयोगमा उनले ब्याक नाइन इभन पार ३४ स्कोर गरेका थिए । 

एमेच्योरमा राहुल अगाडि 
प्रतियोगिताको एमेच्योरतर्फ राहुल शीर्ष स्थानमा छन् । उनले ७ अन्डर १३३ स्कोरसहित शीर्ष स्थान रक्षा गरेका हुन् । उनी पदमहाङ लिम्बू र प्रकृत तामाङभन्दा ९ स्ट्रोकले अगाडि रहेका छन् । जयराम श्रेष्ठसहित प्रोफेसनल गल्फर सुमन परियार, सुनील केसी, सञ्जय लामा, सुमन राई, भुवनकुमार रोका, दीपक मगर, कृष्णमान राजवाहक, सुरेश तामाङ, सूर्यप्रसाद शर्मा र धनबहादुर थापाले तेस्रो तथा अन्तिम दिनका लागि स्थान सुरक्षित गरेका छन् ।

See More On

सुझावित समाचार