कांग्रेस चुनावी तयारीमा जुट्यो, घोषणापत्र गगनले तयार गर्ने

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण

गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक र चुनावी तयारी तीव्र बनाएको छ। पार्टीले घोषणापत्र निर्माणदेखि निर्वाचन परिचालनसम्मका जिम्मेवारी तोकेको छ।

ललितपुरको कुपन्डोलमा बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको संयोजकत्वमा घोषणापत्र लेखन समिति गठन गर्ने निर्णय गरेको हो। यससँगै निर्वाचन व्यवस्थापनका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णयसमेत गरिएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वसम्बन्धी कागजात निर्वाचन आयोगमा अद्यावधिक गर्ने निर्णय पनि गरेको छ। 

चार दिनसम्म चलेको दोस्रो विशेष महाधिवेशन बिहीबार बिहान काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको थियो। महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको छ।

यता, बुधबार दिउँसो सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन आयोजक गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको जनाएको छ।

सुझावित समाचार