उदयपुर जिल्लाका आँखाका बिरामीलाई लक्षित गर्दै सञ्चालन गरिएको बृहत् निःशुल्क आँखा शिविरबाट तीन सय ४८ जना आँखाका विरामीको शल्यक्रिया गरी उपचार गरिएको छ । स्थानीय पालिका र तिलगंगा आँखा अस्पताल काठमाडौंको आयोजनामा भिजन हिमालय फाउन्डेसनको सहयोगमा उक्त शिविर १० दिने बृहत् निःशुल्क आँखा शिविरबाट उदयपुरमा चार सय ३८ जनाको आँखाको शल्यक्रियामार्फत सेवा दिइएको हो ।
चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका र बेलका नगरपालिकाका नागरिकलाई सेवा दिइएको थियो । गत पुस १९ गतेदेखि चौदण्डीगढी नगरपालिका वडा नम्बर १ र ८ बाट सुरु भएको शिविरमा कुल तीन हजार ८ सय ९१ जनाको आँखाको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पाँच सय ५९ जनामा गम्भीर आँखासम्बन्धी समस्या देखिएको र उनीहरूलाई तत्काल शल्यक्रिया आवश्यक पर्ने पहिचान गरिएको थियो ।
पहिचान गरिएका बिरामीमध्ये प्रख्यात नेत्र विशेषज्ञ तथा तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतको टोलीले पुस २८, २९ र ३० गते चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारे कोभिड अस्पतालमा शल्यक्रिया गरेको थियो । तीन दिनसम्म सञ्चालन गरिएको शल्यक्रियामार्फत ४३८ जनाको आँखाको सफल शल्यक्रिया गरिएको चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख हिमाल पौडेलले जानकारी दिए । उनका अनुसार शल्यक्रियाका लागि छनोट भएका पाँच सय ५९ जनामध्ये एक सय २१ जना विभिन्न कारणले उपस्थित हुन सकेनन् ।
चौदण्डीगढी नगरपालिकाले हरेक वर्ष तिलगंगा आँखा अस्पताल, काठमाडौं र भिजन हिमालय फाउन्डेसनको सहकार्यमा यस्ता बृहत् आँखा शिविर सञ्चालन गर्दै आएको छ । नगर प्रमुख कालुमान लामाका अनुसार विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यस शिविरबाट हालसम्म १० हजार ८ सय ३४ जनाले आँखा परीक्षण सेवा लिइसकेका छन् । तीमध्ये १ हजार ६ सय ३५ जना शल्यक्रियाका लागि छनोट भएका थिए भने हालसम्म एक हजार २ सय ४० जनाको सफल आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ ।
नगरपालिकाले आर्थिक अवस्था कमजोर, विपन्न तथा पहुँचबाहिर रहेका नागरिकहरूलाई कुनै पनि प्रकारको आर्थिक भार नपरोस् भन्ने उद्देश्यका साथ निःशुल्क आँखाको उपचार तथा शल्यक्रियामार्फत दृष्टि पुनःस्थापना गर्ने लक्ष्य लिएर बृहत् आँखा शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।