बाँकेमा स्ट्रबेरी खेतीमा बढ्दै किसानको आकर्षण

बजारमा माग र मूल्य राम्रो पाएपछि पछिल्लो समय किसानको रोजाइमा पर्दै छ स्ट्रबेरी खेती, हेर्नेको घुइँचो

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण

बाँकेमा स्ट्रबेरी खेती गर्नेको संख्या बढ्दै गएको छ । गत वर्ष बैजनाथ गाउँपालिका १, च्यामाका सर्पराज बस्नेतले १५ क्विन्टल स्ट्रबेरी उत्पादन गरेपछि यो वर्ष थप दुई जना किसानले खेती गरेका छन् । 

गत वर्ष स्ट्रबेरी उत्पादन राम्रो भएपछि बस्नेतले थप दुई कठ्ठा क्षेत्र बढाएर सात कठ्ठामा खेती गरेको बताए । ‘गत वर्ष नसोचेको फल लाग्यो । आम्दानी पनि राम्रो भयो । यसवर्ष दुई कठ्ठा थप गरेर स्ट्रबेरी खेती गरेका छौँ,’ उनले भने, ‘६ लाख रुपैयाँ खर्च लागेको थियो, थोकमा १० लाख र फाटफुट दुई लाख रुपियाँको बिक्री भयो ।’

बस्नेतले गत वर्ष प्रति किलो ६ सय रुपियाँमा बिक्री गरेको बताए । उनले उत्पादन गरेको स्ट्रबेरी नेपालगन्ज र कोहलपुरमा खपत भएको थियो । ‘थोरैमात्र नेपालगन्ज पठायौँ । धेरैजसो कोहलपुरमा खपत भयो । हेर्न आउनेहरूले समेत किनेर लगे,’ उनले भने । 

कोहलपुरका हेमन्त थापाले पनि यसवर्ष स्ट्रबेरी खेती गरेका छन् । गत वर्ष ट्रायलका लागि गरेका उनले यस वर्ष १० कठ्ठामा खेती गरेको बताए । ‘पोहोर साल ट्रायल गरेका थियौँ । फल र माग राम्रो भएपछि यस वर्ष १० कठ्ठामा स्ट्रबेरी खेती गर्यौँ,’ थापाले भने ।

बैजनाथका सर्पराज बस्नेतको स्ट्रबेरी देखेपछि खजुरा गाउँपालिका २ की जगतकुमारी शाहीले पनि तीन कठ्ठामा स्ट्रबेरी खेती गरेकी छन् । उनले बजार माग राम्रो देखेपछि यसको खेती गरेको बताइन् । ‘कृषिसम्बन्धि एउटा कार्यक्रममा सर्पराजजीले फल ल्याउनुभएको थियो । उहाँसँगको कुराकानीमा उत्पादन र बजार राम्रो लाग्यो, अनि मैले पनि यस वर्ष स्ट्रबेरी खेती गर्ने योजना बनाएँ,’ उनले भनिन् ।  बाँकेका किसानले रोपेको स्ट्रबेरीमा फल लागिसकेको छ । लामो समयसम्म घाम नलागेका कारण फल बढ्न नसकेको बैजनाथका सर्पराजले बताए । ‘फल लागिसकेको छ । पहिलो चरणमा फलेको फल माघ पहिलो साताभित्र बजार पठाई सक्छौँ,’ उनले भने । गतवर्षबाट पाठ सिकेर मल्चिङ र डिप इरिगेशन प्रविधि प्रयोग गरि स्ट्रबेरी खेती गरेको उनले बताए । ‘डिप इरिगेशनमार्फत पानी सिँचाइ र रासायनिक मल हाल्छौँ । यसले यस वर्ष उत्पादन बढ्ने आशा छ,’ उनले भने । 

कोहलपुरका हेमन्त थापा र खजुराकी जगतकुमारी शाहीले पनि मल्चिङ प्रविधि प्रयोग गरेका छन् । मल्चिङ प्रविधिबाट खेती गर्दा मजदुरको लागत घट्ने शाहीले बताइन् । ‘मल्चिङ प्रविधिबाट खेती गर्दा झारपात आउँदैन । यसले मजदुरको लागत घटाउन सहयोग गर्छ र विरुवाले राम्रोसँग पोषकतत्व पाउँछ,’ उनले भनिन् । 

पहिलो पटक खेती गर्दा सर्पराज निर्धक्क थिएनन् । स्ट्रबेरी चिसो ठाउँमा फल्ने उनले सुनेका थिए । बाँकेको जस्तो गर्मीमा यसको खेती नफस्टाउने हो की भन्ने चिन्ता थियो । ‘पहिलो वर्ष धुकचुक थियो । बारीमा लटरम्म फलेपछि योजना सफल भयो भन्ने लाग्यो,’ उनले भने, ‘बाँकेको लागि नयाँ फल भएर होला हेर्नेको घुइँचो लाग्थ्यो ।’
उनले स्ट्रबेरी मात्र फलाएनन् । बेर्नासमेत आफैँ उत्पादन गरे । करिब तीन हजार विरुवा आफँैले उत्पादन गरेको उनले बताए । ‘बहुत मेहनत गरेर बिरुवा हुकायौँ, तर योजना बनाएर काम गरे जस्तोसुकै काम पनि गर्न सकिदो रहेछ भन्ने प्रमाणित भयो,’ उनले भने, ‘बाहिरबाट ल्याएकोभन्दा आफैले उत्पादन गरेको विरुवा राम्रोसँग हुर्केको छ । फल पनि राम्रो लागेको छ । अर्को वर्ष अझ धेरै विरुवा राख्ने योजना छ ।’        
 

सुझावित समाचार