- १७ क्लब सहभागी राष्ट्रिय लिग फुटबल प्रतियोगिता बुधबारदेखि सुरु, तर थोरै समयमा प्रशिक्षण र टिम तयार गरी खेल्नुपरेको क्लबहरूको गुनासो
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बुधबारदेखि राष्ट्रिय लिग सुरु भएको छ । लिगमा सहिद स्मारक ‘ए’ डिभिजनका १३ तथा एन्फा प्रेसिडेन्ट कपका शीर्ष चार क्लब प्रतिस्पर्धामा छन् । लिगको पहिलो दिन दुई खेल भए । पहिलो खेलमा फ्रेन्ड्स क्लबले सुर्खेतको काँक्रेबिहार युवा क्लबलाई ३–१ ले पराजित गर्यो । अर्को खेलमा पछिल्लोपटक आयोजना भएको ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले नवप्रवेशी क्लब श्री भगवतीसँग १–१ को बराबरी खेल्यो । एन्फाले तीन वर्षपछि घरेलु फुटबललाई चलायमान बनाउन राष्ट्रिय लिग आयोजना गरेको हो ।
तर, सहभागी क्लबहरू पर्याप्त तयारीविना नै प्रतिस्पर्धा गर्न बाध्य भएका छन् । लिगका लागि कम्तीमा पनि दुईदेखि तीन महिनाको तयारी चाहिने उनीहरूको भनाइ छ । खेलाडी छनोटदेखि टिम तयारीका लागि समय थोरै भएकाले राष्ट्रिय लिगमा सोचेजस्तो नतिजा आउन नसक्ने मच्छिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटवालले बताए । ‘प्रतियोगिताका लागि सोचेजस्तो तयारी गर्न पाएनौँ । यसपटकको लिगमा मच्छिन्द्र विगतको जस्तो छैन,’ प्रिपोस्ट म्याचमा उनले भनेका थिए, ‘यद्यपि, हामीहरूको प्रयास उपाधि जित्ने हुनेछ ।’
धेरैजसो टोलीले लिगमा सहभागी हुन मैत्रीपूर्ण र मोफसलमा आयोजना भएका फुटबल प्रतियोगितालाई केन्द्रित बनाएका थिए । चर्च ब्वाइजले पनि पूर्वमा आयोजना भएको गोल्डकपमा भाग लिएको थियो ।
न्युरोड टिम (एनआरटी)ले भने लमजुङमा खेलेको थियो । एनआरटीका प्रशिक्षक जीवन सिंकेमानले पनि पर्याप्त प्रशिक्षण गर्ने समय नपाएको बताएका छन् । ‘लमजुङमा गएर प्रतियोगिता खेल्यौँ । यो एक किसिमले लिगको तयारीजस्तै रह्यो,’ उनले प्रिपोस्ट म्याचमा भनेका थिए, ‘प्रशिक्षणका क्रममा पनि मैदानको समस्या उस्तै रह्यो ।’ शीर्ष डिभिजन लिग नहुँदा मोफसलका प्रतियोगिता हुँदै आएका थिए । मोफसलमा पनि यस सिजन धेरै गोल्डकप प्रतियोगिता भएनन् ।
गत वर्षको सहिद स्मारक ‘बी’ डिभिजन लिग विजेता हुँदै शीर्ष डिभिजनमा उक्लेको श्री भगवतीका कप्तान अशोक खवासले पनि लिगका लागि तयारी अपुग भएको बताएका थिए । उनले प्रतियोगितामा केवल सहभागी मात्र हुने जनाए । एन्फाले राष्ट्रिय लिगमा कुनै रेलिगेसन नियम बनाएको छैन । यसकारण पुछारमा रहँदा पनि कुनै पनि टोलीको घटुवा हुनेछैन । ‘राष्ट्रिय लिगका लागि पर्याप्त तयारी गर्न पाएनौँ । यो केवल सहभागिताजस्तै हो,’ उनले भने । तयारी कम गरे पनि श्री भगवती उपाधि दाबेदार चर्च ब्वाइजलाई बराबरीमा रोक्न सफल भएको छ ।
युवा खेलाडीमा निर्भर
तीन वर्षमा ‘ए’ डिभिजन लिग नहुँदा धेरैजसो राष्ट्रियस्तरका खेलाडी विदेश भासिएका छन् । यसको प्रभाव अहिले राष्ट्रिय लिगमा देखिएको छ । लिगमा सहभागी हुन उमेर समूहका खेलाडीलाई समावेश गरी टिम बनाइएको छ । अघिकांश क्लबमा युवा खेलाडीको बाहुल्यता छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाधिक विजेता मनाङ मस्र्याङ्दी क्लबले युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ । उसले ‘बी’ र ‘सी’ डिभिजन लिग खेलेका खेलाडी समेटेर टिम बनाएको छ । ‘टोलीमा युवा र उमेर समूहका खेलाडी छन् । ‘बी’ र ‘सी’ डिभिजन लिगसँगै यू–२० का खेलाडी छन्,’ मनाङका प्रशिक्षक शैलेस कर्माचार्यले भने । त्रिभुवन आर्मी क्लबका सहायक प्रशिक्षक जितेन्द्र कार्कीले अनुभवी र युवा खेलाडीलाई समावेश गरेर टिम बनाएको प्रतिक्रिया दिए । ‘खेलाडीहरू विदेश पलायन भएपछि यू–१८ र यू–२३ का खेलाडीलाई टिममा समावेश गरेका छौँ,’ उनले भने ।
लिग च्याम्पियन चर्च ब्वाइजले अंक बाँड्यो
सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगको आफ्नो पहिलो खेलमा श्री भगवती क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ । श्री भगवतीले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा चर्च ब्वाइजले १–१ को बराबरी गोल फर्काएको हो । कप्तान एरिक विष्टले दोस्रो हाफमा गोल गरेपछि चर्च ब्वाइज हारबाट जोगिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई हरिहर बुढामगरले ४५औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए ।
लिगको पहिलो खेलमा ललितपुरको फ्रेन्ड्स क्लबले काँक्रेविहार युवा क्लबलाई ३–१ ले पराजित गर्यो । फ्रेन्ड्सको जितमा प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईंले समान एक गोल गरे । फ्रेन्ड्सकै कमल श्रेष्ठले आत्मघाती गोल गरेका थिए । खेलको छैटौँ मिनेटमा फ्रेन्ड्सका कमलले आत्मघाती गोल गरेपछि काँक्रेबिहारले अग्रता लिएको थियो । फ्रेन्ड्सका प्रशान्तले पहिलो हाफको इन्जुरी समयमै १–१ को बराबरीमा ल्याए । प्रवेशले खेलको ५९औँ मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए । आशिषले अन्तिम मिनेटमा गोल गर्दै फ्रेन्ड्सको जित सुनिश्चित पारेका थिए । फ्रेन्ड्सले ३ अंक जोडेको छ । राष्ट्रिय लिगअन्तर्गत बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल सातदोबाटो युथ क्लब र संकटा क्लबबिच बिहान ११ बजे हुनेछ । दोस्रो खेल लालीगुराँस एसोसिएसन र जावलाखेल युथ क्लबबिच दिउँसो ३ बजे हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछन् ।