पाकिस्तानी मूलका अमेरिकी खेलाडीलाई भिसाको समस्या

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण
  • आफूसहित सायन जहागिर, मोहम्मद मोहसिन र एहसान आदिललाई भारतले भिसा नदिएकोअमेरिकी तीव्र गतिका बलर अली खानको दाबी

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुन एक महिना पनि बाँकी छैन । विश्वकपअघि आयोजक भारत एकपछि अर्को विवादमा मुछिँदै छ । पहिला बंगलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग खेल्न प्रतिबन्ध लगायो । जसका कारण बंगलादेशले आफ्ना खेलाडी भारतमा सुरक्षित नभएको भन्दै त्यहाँ विश्वकप नखेल्ने अडान राखेको छ । अब भारतले पाकिस्तानी मूलका चार अमेरिकी खेलाडीलाई भिसा नदिएको एजेन्सीले जनाएको छ ।

गत संस्करणमा सुपर एटमा स्थान बनाएर अमेरिका सिधै विश्वकपमा छनोट भएको थियो । भारतमा खेल्ने तयारी गरिरहेको अमेरिकी टोलीमा रहेका पाकिस्तानी मूलका चारजना खेलाडीले भिसा नपाएको बताएका छन् । अमेरिकाले प्रारम्भिक टोलीमा रहेका खेलाडीलाई समेटेर भिसाका लागि आवेदन दिएको थियो । जसमा चारजना खेलाडीले भिसा नपाएको क्रिकइन्फोले जनाएको छ । 

क्रिकइन्फोले टेलिकम एसिया स्पोर्टस्लाई उद्धृत गर्दै पाकिस्तानी मूलका चार अमेरिकी खेलाडीले भिसा नपाएको खुलासा गरेको हो । अमेरिकाका तीव्र गतिका बलर अली खानले टेलिकम एसिया स्पोर्टस्सँग आफूसहित चारजना खेलाडीलाई भारतले भिसा नदिएको बताएका छन् । उनीसँगै सायन जहागिर, मोहम्मद मोहसिन र एहसान आदिललाई भारतले भिसा दिएको छैन । ‘चारजना खेलाडीलाई भारतले भिसा दिन अस्वीकार गरेको छ । भिसा नपाउँदा हामीले आगामी टी–२० विश्वकप खेल्न पाउनेछैनौँं,’ अलीले भनेका छन्, ‘भिसाका लागि अमेरिकन क्रिकेट बोर्डले आइसिसीलाई आग्रह गरेको छ ।’ 

आइसिसीको प्रतिबन्धमा अमेरिका
अमेरिका क्रिकेट संघमाथि अहिले आइसिसीले प्रतिबन्ध लगाएको छ । अमेरिकी टोलीको व्यवस्थापन र अन्य प्राविधिक काम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले हेरिरहेको छ । अमेरिकाले हाल विश्वकपको तयारी श्रीलंकामा गरिरहेको छ । अली पनि श्रीलंकामै प्रशिक्षण गरिरहेका छन् । 

अमेरिकाले विश्वकपका लागि अन्तिम टोली घोषणा गरिसकेको छैन । कोलम्बोमा रहेका १८ खेलाडीमध्येबाटै अन्तिम १५ जना छनोट हुनेछन् । अमेरिकी टोलीमा आबद्ध पाकिस्तानी मूलका चार खेलाडीको जन्म पाकिस्तानमा भएको हो । उनीहरूले पाकिस्तानको नागरिकता त्यागेका छन् । भारतको भिसा नियमअनुसार पाकिस्तानमा जन्मिएका कुनै पनि व्यक्तिले भारतको भिसा पाउन आफू जन्मिएकै देशको पासपोर्ट (राहदानी)बाट भिसा आवेदन गर्नुपर्ने हुन्छ । टी–२० विश्वकपको प्रारम्भिक चरणमा अमेरिकाको तीनवटा खेल भारतमा र एउटा खेल श्रीलंकामा छ ।

भारतद्वारा अन्य खेलाडीलाई पनि भिसा दिन इन्कार
भारतले पाकिस्तानी मूलका खेलाडीलाई भिसा नदिएको यो पहिलो घटना भने होइन । यसअघि पनि भारतले पाकिस्तानमा जन्मेका तर अन्य राष्ट्रको नागरिकता लिएर प्रतिस्पर्धा गर्न आएका खेलाडीलाई भिसा नदिएका धेरै उदाहरण छन् । सन् २०१९ मा पाकिस्तानमा जन्मेका क्रिकेटर सिकन्दर जुल्फिकर र सकिब जुल्फिकरलाई भारतले भिसा दिन अस्वीकार गरेको थियो ।

सन् २०२३ को एकदिवसीय विश्वकप खेल्न पाकिस्तानमा जन्मिएका सिराज अहमदले सुरुवातमा भिसा पाएका थिएन । पछि आइसिसीकै पहलमा उनले भारत प्रवेशको अनुमति पाएका थिए । सन् २०१७ मा अस्ट्रेलियन टोलीका ओपनर उस्मान ख्वाजा तथा सन् २०२४ मा इंग्ल्यान्डका स्पिनर रेहान अहमद र सोएब बसिरले पनि भारत प्रवेशका लागि भिसाको समस्या सामना गरेका थिए । टी–२० विश्वकपमा सहभागी ओमान, युएई, इटालीलगायत अन्य राष्ट्रमा पनि पाकिस्तानमा जन्मिएका खेलाडी छन् । उनीहरूको विषयमा पनि यस्तै समस्या आउने अनुमान गरिएको छ । भारत र पाकिस्तानबिचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण पाकिस्तानी मूलका खेलाडीलाई भिसा पाउन सधैँ मुस्किल हुने गरेको छ । 

See More On

सुझावित समाचार