‘शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि’ भन्दै १४औँ संस्करणको पोखरा महोत्सवको सुरु भएको छ। युवाको जाँगर राष्ट्र निमार्णको आधार भन्ने नारासहित स्थापना भएको युनाइटेड क्लब पोखराको आयोजना, बेटरको मुख्य प्रायोजन, सिटिजन फर्निचरको सहप्रायोजन, बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेड, डियर वक पोखरा स्कुल, ओमोडा जेको, हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउ, भिजन लिंक एजुकेसन कन्सल्टेन्सी, सिद्धि अटोपार्टस् एन्ड मोटरसाइकल वर्कसप, डिभ्योल मोबिल र पोखरा सेकुवाघरको प्रायोजनमा पोखराको अमरसिंह चोकस्थित खेलमैदानमा सुरु महोत्सव ११ माघसम्म चल्नेछ।
महोत्सवको उद्घाटन गर्दै नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले यस्ता मेला–महोत्सवले कला, संस्कृतिको प्रवर्द्धन र आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने बताइन् । फरक प्रसंगमा मन्त्री श्रेष्ठले आफू विशेष परिस्थितिबाट नेपाल सरकारको मन्त्री बन्न पुगेको भन्दै वर्तमान सरकारको काम निर्वाचन गराउनु रहेको बताइन् । निर्वाचन तोकिएकै समयमा गर्न सरकार प्रतिबद्ध रहेको र राजनीतिक दलहरूसमेत तयार रहेको उल्लेख गरिन् ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनसँगै हाल लेखनाथमा निर्माण भइरहेको छात्रावासलाई प्रदेश सरकारको तर्फबाट साथ र सहयोग रहेको बताएका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सवमार्फत क्लबले गरेको सामाजिक कामको प्रशंसा गर्दै हुने समाजिक काममा पत्रकारहरूको साथ र सहयोग रहने बताएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले यस्ता मेला–महोत्सवले आर्थिक क्षेत्र चलायमानसँगै उद्योग–व्यवसायको प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताएका थिए ।