सिन्धुलीमा बैंकको तीन करोड डकैती, गाडी र पैसा छाडेर भागे लुटेरा

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण
सिन्धुलीमा बैंकको तीन करोड डकैती, गाडी र पैसा छाडेर भागे लुटेरा

डकैतीमा प्रयोग भएको गाडी र बरामद भएको पैसाको बोरा

 सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंकमा डकैती भएको छ।  हतियारसहित आएको समूहले बैकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिई लुटपाट गरेको हो। लुटपाट गर्ने एकजना गाडीसहित पक्राउ परेका छन्। 

बैकबाट तीन करोड सात लाख रुपैयाँ लुटेको सूचना प्रहरीले पाएको छ।  लुटपाटमा प्रयोग गरिएको सवारीसाधनसहित एकजनालाई स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका २ का वडाध्यक्ष रोशन ब्लोनले जानकारी दिए । लुटपाटमा प्रयोग भएको सवारीसाधन गाउँपालिकाको वडा नम्बर एकमा पर्ने टुनिभञ्ज्याङबाट नियन्त्रणमा लिइएको उनले बताए। 

लुटिएको केही रकमसमेत फेला पारेको उनको भनाइ छ । रकम बोरामा फेला परेको र कति रकम छ भन्ने यकिन भन्न सक्ने अवस्था नभएको उनले बताए । लुटपाटमा प्रयोग गरिएको बिएडी ०३९८ नम्बरको इम्बोस्ट नम्बर प्लेटको गाडी बरामद भएको छ । लुटेराहरू जंगलतर्फ भागेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

हतियारसहित आएको लुटेरा समूहले बैंकका कर्मचारी र सुरक्षागार्डलाई हातखुट्टा बाँधी पेस्तोल देखाएर लुटपाट गरेको बैकका कर्मचारीहरुको भनाई उद्धृत गर्दै वडाध्यक्ष ब्लोनले जानकारी दिए। 

नियन्त्रणमा लिएको सवारीसाधन र पैसा भने इलाका प्रहरी कार्यालय बस्तीपुरमा राखिएको छ। साँझ साढे ७ बजेतिर बैंकमा लुटपाट भएको वडाध्यक्ष ब्लोन बताए। बैंक गाउँपालिकाको सदरमुकाम बस्तीपुरमा रहेको छ भने बैंकबाट इलाका प्रहरी कार्यालयको दूरी करिब २ किलोमिटर रहेको छ । घटनाको बारेमा विस्तृत छानबिन थालिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए। ‘म घटनास्थल पुग्दै छ, कति लुटपाट भयो भन्ने विस्तृत विवरण अझै आएको छैन,’ उनले भने। 

सुझावित समाचार