तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका– ५ स्थित धोंद्राङबेँसीनजिक त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेको गाडीको उत्खनन कार्य आज पनि जारी छ।
पुस २९ गते उक्त गाडीको उत्खननका लागि सशस्त्र प्रहरी बल नेपाल परिचालन गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानुबाट खटिएको सुरक्षा फौजले खोज तथा उत्खनन कार्य अघि बढाइरहेको छ।
पुस २७ गते आइतबार बिहान चितवन जिल्लाको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालभन्दा केही तल त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गाडीका पार्टपुर्जा देखिएको भन्ने सूचना प्राप्त भएपछि खोजकार्य सुरु गरिएको थियो।
नदी किनारमा फेला परेका पार्टपुर्जा २०८१ असार २८ गते बिहान पहिरोका कारण त्रिशुली नदीमा पुरिएर बेपत्ता भएको गाडी हुन सक्ने आशंका गरिएको छ। उक्त दिन वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता भएका थिए।
उत्खनन तथा पहिचान कार्य सम्पन्न भएपछि थप विवरण सार्वजनिक गरिने सशस्त्र प्रहरीले जनाएको छ।