चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टी (नकपा) प्रवेश गरेका छन् । 

सुवेदीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार हात्तीवनस्थित निवासमा केही नेताहरूको उपस्थितिमा पार्टीमा स्वागत गरे । सुवेदी ०७१ सालमा मोहन वैद्य नेतृत्वमा तत्कालीन नेकपा माओवादी विभाजित भएदेखि नै विप्लवसँग नजिक रहेर काम गर्दै आएका थिए । रोल्पानिवासी उनी राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन् । 

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी महासचिवसमेत रहेका विप्लव चुनाव लड्ने तयारीमा रहेका वेला सुवेदी नेकपामा प्रवेश गरेका हुन् । सुवेदीले निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनलाई सघाउन मूलघरमा फर्किएको बताए ।

पुनसँग चुनावी प्रतिस्पर्धामा नउत्रन आफूहरूले गरेको आग्रह अस्वीकार गरेको र जिल्लाको विकासका लागि पुनको जित आवश्यक रहेकाले आफूले विप्लवको साथ छाडेको सुवेदी बताउँछन् ।

‘उहाँहरू दुईजना एकै क्षेत्रबाट चुनाव लड्नुहुँदैन भन्ने हाम्रो आग्रह हो । विप्लव कमरेडलाई धेरैपटक आग्रह गर्दा पनि मान्नुभएन,’ सुवेदीले भने, ‘जिल्लाको विकासका लागि विप्लवभन्दा अनन्त कमरेडको आवश्यकता छ भन्ने आमकार्यकर्ताको बुझाइ भएकाले मूल घरमा फर्कने निधो गरेँ ।’ पार्टी प्रवेश कार्यक्रममा नेता पुनका साथै सुवेदीका पिता झक्कुप्रसाद पनि सहभागी थिए । ०७४ र ०७९ मा रोल्पाबाट प्रतिनिधिसभा सदस्य नर्वाचित पुन आगामी निर्वाचनमा पनि उम्मेदवार बन्ने तयारीमा छन् ।

See More On

सुझावित समाचार