नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी गतिविधिमा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका छन्।
भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सोमबार विज्ञप्ति जारी गर्दै खड्काले एकताका साथ अघि बढ्न अपिल गरेका हुन्।
देश विषम परिस्थितिमा रहेको उल्लेख गर्दै खड्काले भनेका छन्, ‘यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु।’
फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभाको निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारू गर्न आवश्यक रहेको प्रस्ट्याउँदै खड्काले कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य रहेको बताएका छन्।
प्रतिनिधिसभाको निर्वाचनपछि ०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको उनको तर्क छ।
