नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
महामन्त्री गगनकुमार थापाले प्रतिवेदनमा भनेका छन्, ‘यो अभियानले निराशा, घृणा र प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षाको किरण जगाउनेछ। यसले लोकतान्त्रिक संस्कार प्रवर्द्धन गर्दै नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमान पुनर्स्थापित गर्नेछ ।’
अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दी हटाउँदै विभिन्न पुस्ता, क्षेत्र र समुदायबिच संवाद र सहकार्य सुदृढ गर्ने र राष्ट्रिय आत्मविश्वास र सामाजिक एकता बढाउने लक्ष्य राखेको छ।
महामन्त्री थापाले यस अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूलाई सामाजिक र राजनीतिक जिम्मेवारीसहित परिचालित गरिने बताए। ‘यसले साझा राष्ट्र मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न र अन्तरपुस्ता सहकार्य सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले थपे।