बैतडीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुरा आलिताल गाउँपालिका– ३ का १३ वर्षीय राकेश रावल, सिगास गाउँपालिका– १ का २४ वर्षीय निशान्त बोहरा र २८ वर्षीय भानदेव भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको ।
सुर्नया गाउँपालिका– ६, मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म.१ज २२४ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। पाटन नगरपालिका– ८ को विजयपुरनजिक उक्त दुर्घटना भएको उनले बताए।
आज बिहान करिब १० बजेको समयमा भएकाे दुर्घटनाका घाइतेहरूलाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिँदै छ। स्थानीयहरू तुरुन्तै उद्धार कार्यमा खटिएको र प्रहरीले पनि उद्धार गर्दै अस्पताल पठाउँदै गर्दा घाइतेहरूको यकिन संख्या आइनसकेको रायले बताए। जिपमा करिब २० जनासम्म सवार रहेको अनुमान गरिएको छ।