दोस्रो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)का लागि खेलाडीको ट्रायल्स भएको छ । ट्रायल्समा उत्कृष्ट प्रदर्शन गरेका १८० खेलाडी ड्राफ्टमा छनोट भएका छन् । नेपाली कबड्डीमा व्यावसायिक प्रतियोगिता सुरु गरेको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले दोस्रो सिजनका लागि दर्ता भएका ५१२ मध्ये प्राविधिक टोलीको छनोटका आधारमा १८० खेलाडी प्लेयर ट्रायल्समा सहभागी भएको जनाएको छ ।
दुई दिनसम्म चलेको ट्रायल्सको पहिलो दिन आइतबार ९० खेलाडीले प्रतिस्पर्धा गरे । व्यक्तिगत रूपमा दर्ता भए पनि उनीहरूलाई टिममा विभाजन गर्दै कोर्टमा उतारिएको थियो । बाँकी ९० खेलाडीले दोस्रो दिन सोमबार आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।
खेलाडी ट्रायल्समा काठमाडौं माभरिक्सका मार्की तथा राष्ट्रिय पुरुष टोलीका कप्तान घनश्याम मगर, महिला टोलीकी कप्तान मानमति विष्ट, एनकेएल पहिलो सिजनको च्याम्पियन जनकपुर नाइट्सका प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटासँगै विराटनगर ब्यान्डिसटका कप्तान कल्याण भुजेलको सक्रिय सभागिता रहेको छ ।
ड्राफ्टमा स्थान बनाउनुपूर्व झापादेखि पश्चिम दाचुर्लासम्मका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्राविधिक टोलीले खेलाडी ट्रायल्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गर्ने एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए । फ्रेन्चाइजका आधारमा बनाइएका ६ सहरका ६ टोलीले ड्राफ्टमार्फत एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् । दोस्रो सिजनको तयारीलाई तीव्रता दिइएको छ । दोस्रो एनकेएलको तयारीमा एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टरस्कुल कबड्डी च्याम्पियनसिप पनि आयोजना गर्दै छ ।