विराटनगरको सेन्ट्रल मलस्थित सिनेमा घरमा आइतबार चलचित्र ‘पहिचान’ को विशेष सो देखाइएको थियो । आइतबार बिहान ११ बजेको विशेष सो हेरिरहेका दर्शकहरूले चलचित्रका अभिनेता प्रशान्त तामाङकाे निधनको खबर पाएपछि मनोरञ्जन लिएर बसिरहन सकेनन् । उनीहरूले हलभित्रै एक मिनेट मौनधारण गरेर शोक प्रकट गरेका थिए ।
अभिनेता एवं गायक प्रशान्तको आइतबार भारतको दिल्लीस्थित निवासमै हृदयघातबाट ४३ वर्षको उमेरमा निधन भएका भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । प्रशान्त भारतीय सोनी टिभीले सञ्चालन गर्दै आएको गायन रियालिटी सो इन्डियन आइडलमा सन् २००७ मा विजेता बनेका थिए ।
४ जनवरी १९८३ मा भारतको पश्चिमबंगाल राज्यको दार्जिलिङमा जन्मिएका प्रशान्त भारतीय प्रहरीअन्तर्गत कोलकातामा जागिरे थिए । उनले जागिरे जीवनमा रहँदै इन्डियन आइडलमा भाग लिएर विजेता बनेका थिए ।
तामाङले नेपाली गोर्खा पल्टन, पहिचानलगायत चलचित्रमा अभिनेताको भूमिका निभाएका थिए । उनी गोर्खा पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लोकप्रिय कलाकारका रूपमा पनि चिनिन्छन् । उनले वेब सिरिज र टेलिभिजन कार्यक्रमहरूमा पनि काम गरेका थिए । तामाङ नेपाली र हिन्दी भाषाका आधुनिक, भजन र लोकसभाका गीतसंगीतमा तामाङ निपूर्ण थिए।