सिराहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– ५ बाट प्रहरीले भारत हुँदै नेपालतर्फ आउने क्रममा ज्याकेटमा लुकाएर ल्याएको खैरो हेरोइनजस्तो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– २, सोठियाइन गाउँका करिब २२ वर्षीय श्रवणकुमार कामैतलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार कामैतले ज्याकेटको खल्तीमा लुकाएर स्टिलको बट्टामा ल्याएको बट्टाबाहेक ३९.९० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको हो।
इलाका प्रहरी कार्यालय महेशपुरपतार र सीमावर्ती झाँझपट्टी प्रहरीबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा प्र.२–०१–००२ प १६०८ नम्बरको मोटरसाइकल चढेका कामैतलाई रोकेर खानतलासी गर्दा उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई महशपुरपतार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।
त्यसअघि गोलबजार क्षेत्रबाट चार दिनअघि प्रहरीले ८.२६० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बिक्री-वितरण गरिरहेको अवस्थामा ६ युवकलाई पक्राउ गरेको थियो। पछिल्लो समय प्रहरीले लागुऔषध ओसारपोसारमा कडा निगरानी गर्न थालेपछि धमाधाम कारोबारीहरू पक्राउ पर्न थालेका छन्।