जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच औपचारिक रूपमा एकीकरण भएको छ। दुवै दलबिच पौष १३ गते भएको एकीकरणसम्बन्धी सहमतिअनुसार एकीकरण प्रक्रिया अघि बढेको दुवै पार्टीले संयुक्त वक्तव्यमार्फत जानकारी दिएका छन्।
सम्झौताअनुसार एकीकरणपछि दलको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहने तथा चुनाव चिह्न छाता रहनेछ। पार्टीको झन्डा माथिल्लो भाग रातो, बिचमा सेतो र तल्लो भाग हरियो रंगको रहने तथा बिच भागमा ढल्किएको छाता रहने व्यवस्था गरिएको छ।
एकीकृत पार्टीलाई सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ। समन्वय समितिले आफूमध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्ने बताइएको छ। दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहने सम्झौतापत्रमा उल्लेख छ।
सम्झौतामा दुवै पार्टीमातहत रहेका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहने उल्लेख गरिएको छ। समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म संगठनहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनेछन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति पनि गरिएको छ। साथै, एकीकरणसम्बन्धी थप प्रक्रिया राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुनअनुसार अघि बढाइने उल्लेख छ।
केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणीकरण गरिने, समन्वय समितिमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहने, तथा समितिमा विभिन्न राजनीतिक तथा सामाजिक पृष्ठभूमिका ४३ जना सदस्य रहनेछन्।
सम्झौतासँगै मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि महिला, अल्पसंख्यक र दलित समूहमा यसअघि दिइएको उम्मेदवारी निष्क्रिय गर्ने सहमति पनि भएको छ। आइतबार भएको सम्झौतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।
