नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले इतिहासको ब्याज मात्र खाएर भविष्य नचल्ने भन्दै समकालीन नेताहरूलाई नयाँ पुस्तालाई अवसर दिन आग्रह गरेका छन्।
भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘हामी गर्वका साथ भन्छौँ– नेपाली कांग्रेसले राणा फाल्यो, पञ्चायत ढाल्यो, देशमा गणतन्त्र ल्यायो। तर, साथीहरू इतिहासको ब्याज मात्र खाएर अब भविष्य चल्दैन।’
समय, पुस्ता र जनताका अपेक्षा बदलिएकाे उल्लेख गर्दै उनले पार्टी चल्ने शैली पनि बदल्नुपर्ने प्रस्ट पारे। उनले भने, ‘अब नयाँ युवायुवतीलाई अघि सार्नुपर्छ।’ आफू व्यक्तिगत स्वार्थको पोको बोकेर विशेष महाधिवेशनमा सहभागी नभएको प्रस्टीकरण दिँदै उनले भदाै २३ र २४ ले पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुने सन्देश दिएको बताए।
महामन्त्रीद्वयलाई भविष्यका ताराका रूपमा चित्रण गर्दै उनले कसैले पनि हठ नगरी विशेष महाधिवेशनका निर्णयलाई कार्यान्वयन गर्नुपर्ने धारणा राखे। ‘यहाँ कसैले हठ गरिराख्न हुँदैन। विधि र विधानअनुसार चल्नुपर्छ। विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ,’ उनले भने।