प्रवेश कटुवाललाई मच्छिन्द्र फुटबल क्लबले बुधबारबाट सुरु हुने राष्ट्रिय लिगका लागि अनुबन्ध गरेको छ । शनिबार क्लबले उनलाई सामाजिक सञ्जालबाट प्रतियोगिता सुरु हुन चार दिनअघि भित्र्याएको जानकारी गरायो । प्रवेशले यसअघि लगातार दुईपटक मच्छिन्द्रलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनाएका थिए ।
चर्च ब्वाइज क्लब पछिल्लोपटक च्याम्पियन हुँदा मच्छिन्द्र भने उपविजेता भएको थियो । राष्ट्रिय लिग च्याम्पियन बन्ने योजनासहित मच्छिन्द्रले प्रशिक्षकमा कटुवाललाई भित्र्याएको हो । शनिबार नै क्लबले व्यवस्थापकमा नवीन चित्रकारलाई भित्र्याएको छ । त्यस्तै, विदेशी खेलाडीहरू जोनाथन र एलिजनलाई पनि अनुबन्ध गरेको जनाएको छ । यता, नेपाली खेलाडीको विषयमा भने क्लबले केही जानकारी गराएको छैन । यद्यपि, क्लबले राष्ट्रिय टिमका अधिकांश खेलाडीलाई अनुबन्ध गर्ने तयारी गरेको क्लब स्रोतले नयाँ पत्रिकालाई जानकारी गरायो । कटुवालले यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक भएर पनि काम गरिसकेका छन् । उनले पछिल्लोपटक भिन्सेन्जो अल्बर्टो एनेस मुख्य प्रशिक्षक हुँदा सहायक प्रशिक्षकको रूपमा काम गरेका हुन् । तर, त्यसपछि उनी केही समय अस्ट्रेलिया पनि पुगेका थिए ।
दुई विदेशी खेलाडी अनुबन्ध
मच्छिन्द्रले महत्वाकांक्षी योजनासहित दुई विदेशी खेलाडी प्यालेस्टाइनका जोनाथन र उज्वेकिस्तानका एलिजनलाई पनि अनुबन्ध गरेको छ । क्लबले दुवै खेलाडी राष्ट्रिय लिगलाई अनुबन्ध गरेको जानकारी गराए । व्यवस्थापक चित्रकारले भने, ‘हामीले यसपटक फरक योजना बनाएका छौँ । त्यसैले दुई विदेशी खेलाडी भित्र्याएका हौँ,’ उनले भने । ललितपुर सिटी एफसीले लगातार दोस्रोपटक नेपाल प्रिमियर लिग (एनएसएल)को उपाधि जित्दा मिडफिल्डर जोनाथनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जोनाथन तेस्रो एनएसएलमा पहिलो गोल गर्ने खेलाडी हुन् । उनले काठमाडौंविरुद्ध पाँचौँ मिनेटमा गोल गरेका थिए । उनले प्रतियोगिताभर मात्र तीन खेल खेल्दा तीन गोल नै गरेका थिए । मात्र १९१ मिनेट खेले ।
यता, उज्वेकिस्तानका एलिजन अलिजोनोभले भने काठमाडौं रेजर्सबाट खेलेका थिए । २८ वर्षीय उनले लिग चरणका ६ खेल नै खेलेका थिए । उनले सबै खेलमा ९० मिनेट नै बिताएका थिए । व्यवस्थापक चित्रकारले अन्य विदेशी र नेपाली खेलाडी चाँडै सार्वजनिक गरिने पनि बताएका छन् ।
१७ क्लब प्रतिस्पर्धा गर्दै
राष्ट्रिय लिगमा १७ क्लब प्रतिस्पर्धा गर्दै छन् । यसपटक राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका १३ सहित राष्ट्रिय छनोटबाट आएका चार क्लब सहभागी छन् । यसअघि एन्फाले सहिद स्मारक ए डिभिजन लिग खेलेका ६ टिमलाई मात्रै राष्ट्रिय लिग खेल्ने दिने घोषणा गरे पनि अन्तिममा सबै टिमलाई खुला गरेको थियो । यद्यपि, हिमालयन शेर्पाले सहभागी जनाउनेछैन । लिगमा तीन विभागीय टोली (आर्मी, पुलिस र एपिएफ) तथा राष्ट्रिय लिगबाट छनोट भएका (कांक्रेविहार, चित्लाङ एफसी, लालीगुराँस संघ र नव जनजागृति क्लब)सँगै बढुवा भएका दुई क्लब प्लानिङ ब्वाइज तथा श्रीभगवती क्लब, मच्छिन्द्र, चर्च ब्वाइज, मनाङ मस्र्याङ्दी, न्युरोड टिम एनआरटी, जावलाखेल युथ क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब र सातदोबाटो क्लब रहेका छन् ।
राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार लिगको खेल तालिका सार्वजनिक गर्दै खेल पाँच दिन सारेको हो । यसअघि एन्फाले पुस २५ बाट लिग गर्ने घोषणा गरेको थियो । तर, क्लबहरूले तयारी अभावलगायत विषय उठान गरेपछि प्रतियोगिता पर सारिएको हो ।
एन्फाले राष्ट्रिय लिगका खेल सातदोबाटोस्थित एन्फा मैदान, च्यासल मैदान र त्रिपुरेश्वरको दशरथ रंगशालामा गरी तीन मैदानमा आयोजना गर्दै छ । एन्फाले एकै दिन तीन वटासम्म खेल आयोजना गर्दै छ । नेपाली राष्ट्रिय टिमको खेलका दिन तथा विभिन्न समयमा लिगलाई विश्राम दिएको छ ।