कांग्रेस विशेष महाधिवेशनका लागि गठित अतिथि सत्कार तथा स्वागत समितिका संयोजक कांग्रेस नेता रामपल्टन साह शनिबार निम्तोपत्र लिएर सभापति देउवानिवास महाराजगन्ज पुगेका थिए । तर, उनले देउवालाई भेटेर प्रमुख अतिथि भइदिन अनुरोधसहितको निमन्त्रणा दिन पाएनन् ।
देउवाका सहयोगीले दुर्व्यवहार गरेर घरबाहिर निकालेको उनको आरोप छ । ‘म पहिलो निम्ता सभापतिलाई दिन महाराजगन्ज गएँ । सभापतिलाई भेट्न भनेर आधा घण्टा कुराइयो । पार्टीको मुख्यसचिव कृष्ण पौडेललाई भेटाइदिनुस्, निम्ता दिनु छ भनेँ । उहाँले सभापतिका स्वकीय सचिव भानु देउवालाई देखाउनुभयो,’ साहले भने, ‘मैले विशेष महाधिवेशनको प्रमुख अतिथिका लागि निम्ता लिएर आएको भनेँ, चिठी भानुजीलाई दिएँ । भानुजीले यस्तो चिठी लिएर आउने, तपाईंलाई लाज लाग्दैन भनेर कच्याककुचुक पारेर मलाई नै दिनुभयो र दुर्व्यवहार गर्नुभयो । उहाँले हातै समातेर जान भनेको र सुरक्षाकर्मीले पनि तपाईंलाई अब नो इन्ट्री भन्दै बाहिर निकाले ।’
त्यहाँ नेता उमाकान्त चौधरी भेटिएपछि उनैलाई चिठी दिएको साहले बताए । सोही ठाउँमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शशांक कोइरालाले चिठी बुझेर धन्यवाद दिएको साहको भनाइ छ ।