- अघिल्लो साता मात्रै विभागीय टोली नेपाल पुलिसलाई हराउँदै न्यु डायमन्डले एनभिए महिला तथा पुरुष च्याम्पियनसिप उपाधि जितेको थियो, शनिबार शेरबहादुर खड्का स्मृति भलिबलको ट्रफी पनि उचालेको छ
न्यु डायमन्ड स्पोर्टस् क्लबले अपराजित रहँदै शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सम्पन्न फाइनलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई हराउँदै ३–१ को सेटमा पराजित गर्दै लगातार दुई उपाधि जितेको हो ।
यो प्रतियोगिताको उपाधि सबैभन्दा बढी ६ पटक अर्काे विभागीय टोली एपिएफ क्लबले जितेको छ । एपिएफले लगातार पहिलो ६ संस्करण उपाधि जित्दा सातौँ र नवौँ संस्करण न्यु डायमन्डले तथा आठौँ संस्करण नेपाल पुलिसले जितेको हो । फाइनल खेल न्यु डायमन्डले खेल २५–२२, २५–१८, १५–२५ र २७–२५ को अंकले जित्यो । तर, तेस्रो सेटको निर्णायक क्षणमा दिएको अंकको कारण खेल विवादास्पद बन्यो । नेपाल पुलिसकी उषा भण्डारीले स्पाइक प्रहार गर्दा हातले नेट पार गरेको इसारा देखाउँदै रेफ्रीले न्यु डायमन्डलाई अंक दिए ।
यही अंकपछि प्रतिस्पर्धात्मक बनेको सेटमा न्यु डायमन्ड जित्न पुग्यो । यदि यो सेट पुलिसले जितेको भए पाँचौँ सेटमा नतिजा आउने थियो । त्यसपछि कोर्टमा केहीबेर पुलिसले असन्तुष्टि जनायो । तर, रेफ्रीले आफ्नो निर्णय पनि उल्टाएनन् । पुलिस यसपटक न्यु डायमन्डसँग बदला लिने योजनामा थियो । अघिल्लो साता मात्रै न्यु डायमन्डले पुलिसलाई सोझो सेटमै हराउँदै एनभिए च्याम्पियनसिपको उपाधि जितेको थियो ।
शनिबार पनि खेलमा न्यु डायमन्ड नै हाबी देखियो । राष्ट्रिय टोलीबाट खेलिसकेकी प्रतिभा माली, सुमित्रा रेग्मी, प्रगति नाथ, सलिना श्रेष्ठको साथ पाएको न्यु डायमन्डले प्रभावशाली प्रदर्शन गर्यो । युवा खेलाडी सुनिता खत्री, निशा महर, सलिना श्रेष्ठले पनि लगातार उत्कृष्ट प्रदर्शन गर्न सफल भए । जेनिशा विश्वकर्मा भने फाइनलमा पनि बेन्चमै रहिन् ।
खेलको पहिलो र दोस्रो सेट न्यु डायमन्डले २५–२२ र २५–१८ ले जितेको थियो । राष्ट्रिय टोलीका खेलाडीहरू उषा, पुनम चन्द, कोपिला राना, कमला पुन कामना विष्ट तथा रिमा कुँवर र एलिसा मानन्धरको साथ पाएको पुलिसले तेस्रो सेट भने २५–१५ ले आफ्नो पक्षमा पार्यो । तर, चौथो सेटमा न्यु डायमन्डले पुनरागमन गर्दै २७–२५ ले जित निकालेसँगै पुलिस निराश बनेको थियो ।
प्रतियोगितामा अर्काे विभागीय टोली एपिएफ तेस्रो भयो । प्रतियोगितामा न्यु डायमन्ड, पुलिस, आर्मीसहित एपिएफ र एभरेष्ट भलिबल क्लबको सहभागिता रहेको थियो । विजेता न्यु डायमन्डले पाँच लाख, उपविजेता पुलिसले दुई लाख ५० हजार तथा तेस्रो भएको एपिएफले २५ हजार पाएका छन् ।
एपिएफ तेस्रो
विभागीय टोली एपिएफ क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । अर्काे विभागीय टोली त्रिभुवन आर्मीलाई ३–० सेटले पराजित गर्दै एपिएफ तेस्रो स्थान हासिल गर्न सफल भयो । त्रिपुरेश्वरस्थित कभर्डहलमा एपिएफले सहज जित निकाल्यो । पहिलो सेट एपिएफले २५–१३ दोस्रो सेट २५–२३ तथा तेस्रो सेट २५–१८ ले जितेको हो । पहिलोपटक एपिएफबाट खेलिरहेकी मीना सुनारले सर्वाधिक २२ अंक जोडिन् । उनी नै प्रतियोगिताको उत्कृष्ट स्पाइकर बनेकी छिन् । यता, आर्मीका लागि भावना डांगीले सर्वाधिक ११ अंक जोडिन् ।
प्रतिभा लगातार सर्वाेत्कृष्ट
अस्ट्रेलियाबाट फर्किएकी प्रतिभा माली प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएकी छिन् । यो उपाधिसहित उनले ५० हजार रुपैयाँ प्राप्त गरिन् । यसअघि एनभिए च्याम्पियनसिपमा पनि प्रगति सर्वाेत्कृष्ट खेलाडी चुनिएकी हुन् । पछिल्लो एक वर्ष अस्ट्रेलियामा बिताएकी प्रतिभा पुस तेस्रो साता नेपाल फर्किएकी थिइन् । पहिलो दुई प्रतियोगितामै सानदार प्रदर्शन गर्दै उनले राष्ट्रिय टिममा फर्किन तयार रहेको प्रस्ट पारेकी छिन् । विधागत उपाधितर्फ पनि न्यु डायमन्ड हाबी रह्यो । न्यु डायमन्डकी सुमित्रा रेग्मी बेस्ट बल्कर तथा बेस्ट सेटरको उपाधि न्यु डायमन्डकै प्रगति नाथले जितिन् । न्यु डायमन्डका कुमार उत्कृष्ट प्रशिक्षक बने । एपिएफकी मीना सुनुवार बेस्ट स्पाइकर बनिन् । उनले प्रतियोगिताभर ७४ अंक जोडेकी थिइन् । नेपाल पुलिस क्लबकी शान्तिकला तामाङ बेस्ट लिबेरो र पुलिसकी पुनम चन्द बेस्ट सर्भर बनिन् । उत्कृष्ट बन्न सफल खेलाडी र प्रशिक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।