रसिलालाई लगातार चौथोपटक उपाधि

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण
  • तीनपटककी विजेता रसिला महर्जनले चौथो उपाधि जित्ने क्रममा आफ्नै क्लबकी शेस्ना सिरपालीलाई हराइन् 

विभागीय टोली त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि लगातार चौथोपटक जितेकी छिन् । शनिबार तीनपटककी उपाधि जितिसकेकी महर्जनले चौथो उपाधि जित्ने क्रममा आफ्नै क्लबकी शेस्ना सिरपालीमाथि पुनरागमन जित निकालिन् । पहिलो सेट २०–२२ ले पछाडि परेकी रसिला खेलमा फर्कँदै दोस्रो २१–१५ र २१–९ ले आफ्नो पक्षमा पारिन् । रसिलाले नगद ५० हजार तथा उपविजेता बनेकी शेस्नाले नगद २५ हजार प्राप्त गरिन् । तेस्रो स्थानमा आर्मीकी रिहाना शेरचन र भोजपुरकी नंगसल तामाङ रहे । शेरचन र तामाङले समान १० हजार पाएका छन् । 

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकलतर्फ आर्मीका प्रल्फुल महर्जनले पहिलोपटक उपाधि जिते । महर्जनले सप्तरीका विष्णु कटुवाललाई २१–९ र २१–६ ले पराजित गरेका हुन् । प्रफुल्लले नगद ५० हजार तथा उपविजेता विष्णुले नगद २५ हजार जितेका छन् । तेस्रो स्थान प्राप्त गरेका आर्मीका विधान अधिकारी र एपिएफका क्षितिज खनालले समान १० हजार पाए । 

युगलतर्फ विधान र पविन पहिलो
पुरुषको युगलतर्फ भएको प्रतिस्पर्धामा आर्मीका विधान अधिकारी र पविन लिङथेपको जोडीले जित हात पारे । विधान र पविनको यो प्रतियोगितामा लगातार चौथोपटकको जित हो । बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा विधान र पविनको जोडीले आर्मीका प्रफुल्ल महर्जन र टाइमआउटका रुकेश महर्जनको जोडीलाई २१–२३, २१–१७ र २१–१८ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा एपिएफका देवराज राना र प्रनिश सिंह ठकुरीको जोडी तथा तीनचुलीका सुनील कार्की र महेश खड्काको जोडी रहे । विजयी खेलाडीहरूले नगद ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले नगद १० हजार पाएका छन् । 

यू–१७ महिला एकलतर्फको खेलमा आर्मीकी रिहाना सेरचन विजय भइन् । शेरचनले फिट नेपाल स्पोर्टस्प्लेक्सकी निभा राईलाई २१–१४ र २१–१४ ले हराइन् । यस विधामा एपिएफकी स्वर्लिन श्रेष्ठ र आर्मीकी समृद्धि श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहे । यू–१७ पुरुष एकलतर्फ आर्मीका सदीप राईले उपाधिमा नाम लेखाए । उनले आफ्नै क्लबका प्रतीक विष्टलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधि चुमेका हुन् । आर्मीका रिजन महर्जन र सौर्य महर्जनले तेस्रो स्थानमा चित्त बुझाए । मास्टर युगल ४५ वर्षमाथिको प्रतिस्पर्धामा पिस फिटनेस क्लबका सञ्जय कपाली र अनिल थामसुहाङको जोडीले युनिटी ब्याडमिन्टन क्लबका आङकुसाङ शेर्पा र लाक्पा शेर्पाको जोडीलाई हराउँदै च्याम्पियन बने । 

विजेता खेलाडीहरूलाई ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, शीर्ष २० वरीयताबाहेकको पुरुष युगल, यू–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्षमाथिको मास्टर युगल खुला गरी ६ विधामा करिब दुई सय २६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

See More On

सुझावित समाचार