उज्यालो नेपाल पार्टीसँगको सहमति अनुमोदन नगर्ने रास्वपाको निर्णय

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उज्यालो नेपाल पार्टी (उनेपा)सँग १४ पुस ०८२ मा गरेको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ । रास्वपाको आज बसेको सचिवालयको अकस्मिक बैठकले रास्वपा र उनेपाबिच भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको हो । 

सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ– सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबिच वृहत् सहकार्यमार्फत् मुलुकमा नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्ने उद्देश्यका साथ रास्वपाले पछिल्लो समय विभिन्न राजनीतिक समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्यका सम्भावनाहरूलाई अगाडि बढाउँदै आएको छ। यही परिप्रेक्ष्यमा उनेपासँग भएको सहमतिभन्दा पर गई विभिन्न पूरक सहमति र मूल सहमतिको परिमार्जनका लागि उनेपाबाट निरन्तर प्रस्तावहरू प्राप्त भए र शीर्ष नेतृत्व तहमा पटक–पटक बैठकहरू पनि भए।

विज्ञप्तिमा भनिएकाे छ– राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट मान्यता छ, नयाँ राजनीतिक शक्तिहरूको ऐतिहासिक जिम्मेवारी सत्ता–केन्द्रित अंकगणित मिलाउनु वा शक्ति बाँडफाँटको व्यवस्थापन गर्नु होइन बरु लोकतान्त्रिक सुशासन, सार्वजनिक उत्तरदायित्व, नीतिमा आधारित शासन, सामाजिक न्याय र समावेशी समुन्नतिका लागि साझा प्रतिबद्धता निर्माण गर्दै जनविश्वासलाई संस्थागत गर्नु हो। 

यस परिस्थितिमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिँदै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूसँग निरन्तर संवादमा रहनेछ।  साथै, आगामी निर्वाचनमा स्थापित दलहरूको जडता, स्वार्थ–केन्द्रित राजनीति र असफल शासन–संस्कृतिलाई चुनौती दिन सक्ने बलियो राष्ट्रिय राजनीतिक शक्तिका रूपमा रास्वपालाई अगाडि बढाउन आमसदस्य, शुभेच्छुक तथा परिवर्तन चाहने सम्बन्धित सबैलाई जोड्नका लागि हर सम्भव कोसिस गर्ने प्रतिबद्धता पनि पुनः व्यक्त गर्दछ।

सहकार्यको अभ्यासमा १२ दिनको यात्रा अनुमोदन नभए तापनि, नेउपाको नेतृत्व तथा सम्पूर्ण संगठनलाई आगामी दिनमा सफल यात्राको लागि शुभकामना व्यक्त गर्दछौँ। 

सुझावित समाचार