संखुवासभाको खाँदबारी नगरपालिका–७, लबिङ हिलमा मोटरसाइकल र अटो ठोक्किँदा ३ जना घाइते भएका छन्। आज बिहान करिब साढे ११ बजेतिर खाँदबारी–७, लबिङ हिलस्थित कोशी राजमार्गमा खाँदबारीबाट सेकाहातर्फ जाँदै गरेको को ३८ प १०८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट खाँदबारीतर्फ आउँदै गरेको प्र.१–०२–००५ ह १५९६ नम्बरको अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा अटो सडकबाट अन्दाजी २५ मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
घटनामा खाँदबारी–९, भेडेटार बस्ने ३२ वर्षीय खेमराज मगर, सभापोखरी– ३, पावा बस्ने वर्ष २२ कि सबिना राई र अटोमा सवार वर्ष २५ की विपना राई घाइते भएको प्रहरीले जनाएको छ।