ताप्लेजुङको सिंवा बजारमा पहिलो माघेमेला गोल्डकप हुँदै

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३, लिङ्खिमस्थित सिंवा बजारमा पहिलोपटक माघेमेला गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। माघेसंक्रान्ति तथा ऐतिहासिक माघेनी मेलाको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

शनिबार फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले गोल्ड कप सञ्चालनको जानकारी दिएका हुन्। माघेनी मेला यसअघि पनि हुँदै आएको भए पनि गोल्ड कप भने यस वर्षदेखि सुरु गर्न लागिएको मेला सञ्चालन समितिले जनाएको छ।

 आमन्त्रित प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ। आयोजक सिंवा स्पोर्टिङ क्लब लिङ्खिमसहित धनकुटा, तेह्रथुम, पाँचथर, झापा र ताप्लेजुङका विभिन्न क्लबहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले नगद तीन लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले एक लाख ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडी, डिफेन्डर, गोलकर्ता र गोलरक्षकलाई पनि पुरस्कार प्रदान गरिनेछ। 

मेलाअन्तर्गत सांगीतिक साँझ पनि आयोजना हुनेछ। सांगीतिक कार्यक्रममा राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बूसहित अन्य चर्चित तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ। जिल्लाको तेस्रो ठुलो बजारका रूपमा परिचित सिंवा बजारको पर्यटन र व्यापार प्रवर्धन गर्ने उद्देश्यले मेला तथा खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
 

सुझावित समाचार