बारामा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भिड

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शुक्रबारदेखि म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु भएसँगै जिल्ला प्रहरी कार्यालय बारामा आवेदन दिनेको भीड लागेको छ।

बारा जिल्लाका लागि कुल ४ हजार ३४ जना म्यादी प्रहरीको माग गरिएकाले भर्ना हुन चाहने युवाहरूको उत्साहजनक उपस्थिति देखिएको हो। पहिलो दिनमै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउनेहरूको लामो लाइन लागेको प्रहरीले जनाएको छ।

म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने अन्तिम मिति २०८२ माघ १ गतेसम्म तोकिएको छ। उमेर हद १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड राखिएको छ। सरकारले यसपटकको निर्वाचनका लागि देशभर कुल १ लाख ३३ हजार १८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा करिब डेढ लाख सुरक्षाकर्मी परिचालन गर्ने सुरक्षा योजना रहेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रहरूको सुरक्षा र व्यवस्थापनका लागि भर्ना गरिने म्यादी प्रहरीले निर्वाचन अवधिमा प्रहरीको सहयोगीका रूपमा काम गर्नेछन्।

यसैबीच, एक जना म्यादी प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको करिब ३४ हजार रुपैयाँ तलब प्रदान गरिनेछ। साथै जिल्ला दररेट निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको स्थानसम्म जान र फर्किनका लागि एक पटक प्रतिव्यक्ति ८४६ रुपैयाँ यातायात भत्ता, चार दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले एकमुस्ट १ हजार २०० रुपैयाँ खाजा खर्च उपलब्ध गराइनेछ।

त्यसैगरी, जिल्लाको मौसमअनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च पनि प्रदान गरिने व्यवस्था गरिएको छ।

सुझावित समाचार