संगीत सिर्जनामा ‘एआई’ हस्तक्षेप

एआईको अन्धाधुन्ध प्रयोगले नेपाली संगीतको मौलिकतामाथि गम्भीर प्रहार भइरहेको छ

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

हामी सूचनाप्रविधिले ल्याएको ठुलो परिवर्तनको युगमा छौँ । यसलाई विज्ञहरूले एआई (कृत्रिम बौद्धिकता) को युग पनि भनेका छन् । एआईले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा मात्र होइन, भावनासँग गाँसिएको कला क्षेत्रमा पनि गहिरो प्रभाव पार्न थालेको छ । विशेषगरी गीत–संगीतमा पनि यसको प्रभाव गहिरो गरी पर्न थालेको छ । अहिले युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राममा एआईबाट सिर्जित गीत–संगीतको बिगबिगी थामिनसक्नु छ । मनपर्ने गायकको नाम सर्च गरेर गीत सुन्न थाल्यो, उही एआई सिर्जित गीतको फन्दामा परिन्छ । एआईले एकाध मिनेटमै रेकर्डेड गीत हामीलाई तयार पारिदिन्छ ।

यसले संगीत क्षेत्रमा ठुलो चिन्ता थपेको छ । संगीतका मर्मज्ञ मर्माहत भएका छन् । रचनाकारदेखि, संगीतकार, गायक, वाद्यवादकलाई एकसाथ चिन्तित बनाएको छ । यसले कला, संस्कृति र मानवीय संवेदनाका सबै तहलाई प्रभाव पार्ने विज्ञको चिन्ता छ । 

संगीत अन्वेषक तथा गीतकार बुलु मुकारुङले एआईले नेपाली गीत–संगीत मात्र होइन, भाषा, संस्कृति र सभ्यतामाथि नै गहिरो प्रभाव पार्न थालेको बताउँछन् । उनका अनुसार एआईले सिर्जना गर्ने संगीतमा स्वरूप हुन्छ, तर आत्मा हुँदैन । मुकारुङ भन्छन्, ‘एआईले बनाएको संगीत ढाँचाबद्ध मात्रै हुन्छ, त्यहाँ भावना हुँदैन । बाँसुरी, सहनाई, सारंगीजस्ता बाजाका धुन एआईले दिन सक्दैन । एआई पश्चिमा शैलीमै सीमित हुन्छन् । हाम्रो लोकभाकामा बज्ने पृथक् स्वाद र विरहभाव एआईको संगीतमा भेटिँदैन ।’

मुकारुङका अनुसार पहिले गीत रेकर्ड गर्दा लाइभ मादल, बाँसुरी, सारंगी, सहनाईजस्ता बाजा प्रयोग हुन्थे, जसले संगीतमा सामूहिकता र जीवन्तता दिन्थ्यो । अहिले डाउनलोड गरिएका डिजिटल बाजाले त्यो स्थान लिन थालेको छ । ‘दमाहा बज्ने ठाउँमा ड्रम, सहनाईको ठाउँमा सेक्सोफोन प्रयोग भइरहेको छ,’ उनी भन्छन्, ‘सहनाईको विरही धुन एआईले निकाल्न कहाँ सक्छ ?’ 

वरिष्ठ संगीतकार राजु सिंह एआईले लामो समयदेखि साधनारत स्रष्टा र सर्जकलाई प्रत्यक्ष असर पुर्‍याइरहेको बताउँछन् । उनका अनुसार सर्जकको सिर्जना वर्षाैंको अभ्यास, अनुभूति र जीवन भोगाइबाट निस्किन्छ । 

‘संगीतमा एआईको प्रयोग तीव्र बन्दै जाँदा स्रष्टा र सर्जकको रोजगारी नै संकटमा पर्ने खतरा देखिएको छ । एआईले संगीतलाई सस्तो बनाइरहेको छ । संगीतका लागि आवश्यक साधना, सिकाइ र अनुशासनको महत्व नै कमजोर पार्दै छ,’ उनी भन्छन्, ‘अब जो–कोहीले पनि सजिलै संगीत सिर्जना गर्न सक्ने समय आएको देखिन्छ । तर, वास्तविक स्रष्टाले एआईलाई राम्रोसँग बुझिसकेका छन् । यसलाई केवल सहयोगी उपकरणको रूपमा मात्र प्रयोग गरेका छन् ।’ उनको बुझाइमा एआईको प्रभाव दीर्घकालीन छैन । ‘यो क्षणिक हो, समयसँगै यसको प्रभाव क्रमश: कम हुँदै जानेछ,’ उनी भन्छन् ।

भावना र आत्माको अभाव
एआईले तयार पारेको संगीतमा आत्मा नहुने सिंहको बुझाइ छ । ‘संगीत केवल धुन र तालको संयोजन होइन, यो हृदयको संवेदना हो । पीडा, आनन्द र व्यक्तिगत यात्राबाट कला जन्मिन्छ,’ उनी भन्छन्, ‘संगीतले श्रोता तथा कलाकारबिच भावनात्मक सम्बन्ध स्थापित गर्छ ।’

एआईले जस्तोसुकै कम्पोजिसन गरे पनि त्यसमा मानवीय भावना नहुने सिंहको ठम्याइ छ । ‘संगीतको मिठास, आत्मा र संवेदना एआईमा भेटिँदैन,’ उनी भन्छन्, ‘एक संगीतकारले सुर, ताल र लयलाई प्रस्तुतीकरणसम्म ल्याउन वर्षाैंदेखि साधना गरेको हुन्छ । एआईबाट तयार हुने संगीत र मानवीय सिर्जनाबिच आकाश–जमिनको फरक हुन्छ ।’ 

राजु सिंहको भनाइसँग अर्का संगीतकार साहस शाक्य पनि सहमत छन् । संगीत मानवीय भावना र अनुभूतिबाट जन्मिने कला भएको उनी बताउँछन् । ‘गीत–संगीत मनको भावनाबाट सिर्जना हुन्छ । एआईले सिर्जना गरेको संगीतमा त्यो भावनात्मक गहिराइ हुँदैन,’ उनी भन्छन् ।

नेपाली मौलिकतामाथि आक्रमण 
नेपाली लोकगीत र लोकबाजाले संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेलेको मुकारुङको तर्क छ । संगीतमा एआईको अत्यधिक प्रयोगले मौलिकता हराउँदै गएकोप्रति उनको चिन्ता छ । मुकारुङ भन्छन्, ‘हाम्रा जनजातिका आफ्नै भाषा, भाका र बाजा छन् । मुर्चुङ्गा, बिनायो, मुरुली, मादल, सारंगी, नरसिंहाजस्ता बाजाको प्रयोग र सामूहिक बजाउने संस्कार एआईले बुझ्नै सक्दैन ।’ 

उनका अनुसार संगीतकार, गीतकार, एरेन्जर, कम्पोजरदेखि स्टुडियो टेक्निसियनसम्म सबै पेसा मानवीय सिर्जनशीलतामा आधारित छन् । ‘एआईले लोकगीत, सोरठी, लोकधुनजस्ता परम्परागत स्वरूपलाई नक्कलमा मात्र सीमित गरिदियो भने संस्कृति नासिन्छ । यसले संगीतकर्मीबिच आर्थिक संकट ल्याउन सक्छ, प्रविधि कब्जा गर्नेले फाइदा लिन्छन् । एआईले छिटो र सस्तोमा गीत तयार गर्न सक्छ, यो यसको सबल पक्ष हो । तर, यो चाउचाउ उमालेर खाएजस्तै हो, तुरुन्तै त हुन्छ, तर यसको स्वाद दीर्घकालीन हुँदैन ।’

उनी नयाँ पुस्तालाई संयमता अपनाउन आग्रह गर्छन् । उनका अनुसार लाइभ बाजामा सामूहिकता र हृदयको धड्कन हुन्छ, तर एआईमा केवल मेसिनद्वारा गरिने संयोजन मात्र हुन्छ । ‘मानिसले बनाइराखेको संगीतलाई मेसिनले पुन: परिभाषित गर्नु सांस्कृतिक क्षति हो,’ उनी भन्छन्, ‘एआईको अन्धाधुन्ध प्रयोगले सिर्जनशीलता कमजोर बनाउँदै छ, मानिसलाई परनिर्भर बनाउँदै छ र नेपाली मौलिकतामाथि गम्भीर प्रहार भइरहेको छ । दीर्घकालीन सोचका साथ आत्मा र मौलिकता बोकेको संगीत सिर्जना गर्नु आजको आवश्यकता हो ।’ 

एआई र भ्रम 
नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति तथा संगीतकार गायक शम्भु राई पनि एआईको बढ्दो प्रयोगले मौलिक नेपाली संगीत ओझेलमा पर्ने खतरा औँल्याउँछन् । उनका अनुसार संगीतमा ज्ञान, क्षमता र योग्यता नभएकाहरूले एआईको प्रयोग गरिरहेका छन् । तर, एआईले वास्तविक संगीत सिर्जना गर्न नसक्ने उनको दाबी छ । ‘एआई आफैँमा एउटा भ्रम हो’ राई भन्छन्, ‘अहिले बजारमा एआईले तयार पारेका गीत सुन्न सकिन्छ, तर ती क्षणिक मनोरञ्जनका साधन मात्र हुन् ।’ उनका अनुसार संगीत भनेको जीवनशैली, संस्कार, संस्कृति र बाजागाजासँग जोडिएको हुन्छ, जसको प्रतिनिधित्व एआईले गर्न सक्दैन ।

उनी सफ्टवेयर र प्रविधिको प्रयोग संगीतमा सहायकको रूपमा स्वीकार्य भए पनि एआईले शब्द, संगीत र स्वर नै सिर्जना गर्न थालेपछि वास्तविक स्रष्टालाई चुनौती दिन थालेको बताउँछन् । ‘यसले संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दैन । अहिले एआईको प्रयोग धेरैजसो खिसी–ट्युरी र रमाइलोका लागि मात्र भइरहेको छ । हामी वास्तविक सर्जक भ्रममा पर्नु हुँदैन,’ उनी भन्छन् ।

उपकुलपति राई एआईले नेपाली गीत–संगीतमा विकृति ल्याइरहेको बताउँछन् । ‘यो एउटा प्रविधि हो, आउँछ र समयसँगै हराउँछ पनि । तर, यथार्थ जीवनको सिर्जना मानिसबाट मात्र सम्भव छ । नेपालको विविधता संरक्षण गर्नु हाम्रो दायित्व हो । हामी आकाशमा उडे पनि अन्तत: टेक्ने धर्तीमै हो । हाम्रो मौलिक संस्कृति र संगीतको जगेर्ना गर्नु आजको आवश्यकता हो,’ उनी भन्छन् ।

गायिका आस्था राउत एआईले गीत–संगीत क्षेत्रमा वास्तविकता र नक्कलीबिचको भ्रम सिर्जना गरेको बताउँछिन् । ‘एआईले गाएको गीत सुन्दा रियलजस्तो लाग्न सक्छ, तर त्यो कालान्तरमा वास्तविक लाग्दैन । यसले मानिसलाई भ्रममा पार्न सक्छ, तर हामी त्यो भ्रममा कति समय बस्छौँ भन्ने प्रश्न महत्वपूर्ण हो,’ उनी भन्छिन् । 

एआईका कारण कलाकारको रोजीरोटी नखोसिने उनको तर्क छ । ‘एआईले स्टेजमा गएर प्रस्तुति दिने होइन । स्टेजमा प्रस्तुति दिने कलाकारले नै हो । एआईले क्षणिक चर्चा होला, तर दीर्घकालीन प्रभाव हुँदैन । एआईले संगीतलाई ‘फास्ट फुड’जस्तो बनाएको छ । यसले सजिलो र छिटो परिणाम दिने भए पनि मानवीय भावना र संवेदना समेट्न सक्दैन । मान्छेको मन र मस्तिष्कबाट सिर्जना भएको संगीत र कम्प्युटरबाट बनेको संगीतबिच ठुलो फरक हुन्छ,’ उनी भन्छिन्, ‘फिल गरेर कम्पोज गर्नु र गाउनुमा जुन संवेदना हुन्छ, त्यो एआईमा हुँदैन ।’ 

गिटारिस्ट निराकार याक्थुम्बा एआईको प्रयोग गरी संगीत सिर्जना गर्नुको खास अर्थ नरहेको बताउँछन् । ‘एआईले नेपाली संगीतकर्मीलाई असर गरिरहेको देखिन्छ । तर, एआई प्रयोग गरेर म्युजिक गर्नुको कुनै अर्थ हुँदैन । म्युजिक भनेको मनबाट गर्ने कुरा हो । यो सन्तुष्टिका लागि गर्ने हो,’ उनी भन्छन्, ‘म्युजिक आफ्नो विचार पोखाउने माध्यम पनि हो । हिजो हामी चर्चित हुनलाई म्युजिकमा लागेका थिएनौँ । हामी आफैँले कम्पोज गरेको म्युजिकमा रमायौँ, त्यसले आनन्द प्रदान गर्‍यो ।’

उनका अनुसार एआईबाट सिर्जना गरिएको संगीतले क्षणिक चर्चा पाउन सक्छ, तर वास्तविक स्रष्टाले पाउने आत्मसन्तुष्टि र आनन्द त्यसमा हुँदैन । ‘मान्छेको भावना शब्दमा मात्र होइन, संगीतको आत्मासम्म पुग्नुपर्छ,’ उनी भन्छन्, ‘एआईले बनाएको संगीत चर्चित होला, तर मानिसको मनको गहिराइसम्म पुग्दैन ।’ 

रोजगारी गुम्ने खतरा 
संगीतलाई केवल मनोरञ्जनको रूपमा लिनेहरूका लागि एआई उपयोगी हुन सक्ने राजु सिंह स्विकार्छन् । तर, वास्तविक स्रष्टाका लागि भने यसले गम्भीर असर पारिरहेको उनी बताउँछन् । ‘एआईले स्रष्टालाई ओझेलमा पार्न सक्छ,’ उनी भन्छन्, ‘अहिले केही गीत एआईबाटै कम्पोज भएर बजारमा आएको छ । तर, समयसँगै फिल्टर हुँदै जान्छ र वास्तविक स्रष्टाले सिर्जना गर्न थालेपछि एआईको प्रभाव आफैँ घट्दै जान्छ ।’ 

प्रविधिको विकासलाई कसैले रोक्न नसक्ने भन्दै सिंह एआईलाई पूर्ण रूपमा नकारात्मक रूपमा लिन नहुने बताउँछन् । ‘यसको सकारात्मक पक्ष भनेको यसले नयाँ श्रोता र दर्शक तयार गरेको छ । मानिसलाई संगीततर्फ आकर्षित पनि गरेको छ । कसैले शब्द लेखिदिएपछि एआईले सजिलै कम्पोज गरिदिन्छ, जसले संगीतप्रतिको रुचि बढाएको छ,’ उनी भन्छन् । 

एआईको बढ्दो प्रयोगले संगीतकर्मीको रोजगारीमा समेत खतरा बढाएको शाक्यको भनाइ छ । ‘अहिले नयाँ संगीतकार ‘एआईले बनाएकोजस्तो चाहियो’ भन्छन् । ‘यसले २० वर्षसम्म मिहिनेत गरेका संगीतकारले काम नपाउने अवस्था छ । उनीहरूले अनुभव काम नलाग्ने समय आएको छ । यसले संगीतकारको मौलिकता नै मेटिन्छ । यस्तो हुनु नेपाली संगीतको पहिचान हराउनु हो,’ उनी भन्छन् । 

उनका अनुसार एआईको पछि लाग्ने प्रवृत्तिले भविष्यमा कपी–राइटसम्बन्धी जटिलता पनि निम्त्याउन सक्छ । उनी भन्छन्, ‘एआईले सिर्जना गरेका गीतमा कपी–राइटको ठुलो झमेला आउन सक्छ । संगीतको आधारभूत ज्ञान नभएका मानिस पनि सजिलै संगीतकार, गीतकार वा गायक बन्न सक्छन् । यसले नेपाली संगीतलाई झन् धुमिल बनाउँदै लैजानेछ ।

साधनामा विश्वास 
एआई आफ्नै ढाँचामा काम गर्ने र मानिसले बनाएको सीमित संरचनाभित्र अडिएको सिंहको भनाइ छ । ‘राम्रो एआई चलाउन जान्नेहरूले यसलाई प्रयोग गरिरहेका छन् । तर, यसले वास्तविक स्रष्टाको सिर्जनात्मक क्षमतालाई क्रमश: कमजोर बनाइरहेको छ,’ उनी भन्छन्, ‘वास्तविक सिर्जनाका लागि एआईको आयु लामो रहँदैन ।’

उनका अनुसार संगीतकारले साधना गर्नैपर्छ । ‘साधनामा विश्वास गर्ने कलाकारका लागि एआई चुनौती हो, बैसाखी होइन,’ सिंह भन्छन्, ‘संगीतको विकाससँगै प्रविधिको विकासले नयाँ चुनौती थपेको छ ।’ 

संगीतकार साहस शाक्य संसारभर गीत–संगीत क्षेत्रमा कृत्रिम बुद्धिकता (एआई) को प्रयोग तीव्र रूपमा बढिरहेको बताउँछन् । ‘नेपाली संगीत पनि यसबाट अछुतो रहन सक्दैन । तर, संगीतकर्मीले एआईका फाइदा र बेफाइदा दुवै पक्ष गम्भीर रूपमा बुझ्न आवश्यक छ,’ उनी भन्छन्, ‘एआईले सिर्जना गरेको धुन र ताललाई आधार बनाएर प्रारम्भिक स्केच तयार गर्न सकिन्छ । स्केचपछि संगीतकारको आफ्नै कम्पोजिसन हुन्छ । मिक्सिङका क्रममा नोइज हटाउन, भोकल सफा गर्न एआई उपयोगी हुन सक्छ ।’

ड्रमर सञ्जय श्रेष्ठ समयसँगै प्रविधिको विकास हुनु स्वाभाविक प्रक्रिया रहेको बताउँछन् । म्युजिकमा एआईलाई उपयोगी टुल्सको रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ छ । ‘समयक्रमसँगै प्रविधिको विकास हुन्छ । हिजो क्यासेट, सिडीको जमना थियो । गीत रेकर्ड गर्ने प्रविधि सीमित थिए । अहिले एआईले संगीत सिर्जना गर्न थालिसक्यो,’ उनी भन्छन्, ‘बजारमा एआईले सिर्जना गरेको संगीत पनि सुन्न सकिन्छ । तर, एआई उपयोगी टुल्स मात्र हो, तर यसले मानवीय संवेदना छुँदैन । संगीत मनबाटै आउनुपर्छ । संगीतमा मिहिनेत, लगनशीलता र साधना चाहिन्छ ।’

वरिष्ठ संगीतकार वसन्त सापकोटाका अनुसार एआईलाई गीत गाउन लगाउने कार्य स्रष्टाको अनुमतिविना भइरहेको र यसले कपिराइट तथा राजस्वको विषयमा गम्भीर प्रभाव पारिरहेको छ । यो गैरकानुनी कार्यसमेत हो । ‘जसले सिर्जना गरेको हो, ऊसँग स्वीकृति नलिई यस्ता काम भइरहेका छन्,’ उनी भन्छन्, ‘यसरी पुराना सिर्जनालाई एआईमार्फत तोडमोड गर्दै लगियो भने स्रष्टाको मौलिक सिर्जना नै मर्ने खतरा हुन्छ ।’

सापकोटाले यस विषयलाई गम्भीर रूपमा लिएर तत्काल नियमन गर्न सरकारलाई आग्रह गरे । ‘आफ्नो बौद्धिक सम्पत्तिको संरक्षण गर्नु स्रष्टाको पनि दायित्व हो । नेपालमा कपिराइट रजिस्ट्रर कार्यालय छ । नियमन गर्ने निकायले अनुसन्धान गरेर कसले, कसरी यस्तो गरेको हो भनेर पत्ता लगाई कारबाही गर्नुपर्छ,’ उनी भन्छन्, ‘नत्र, भोलि जसले पनि अनधिकृत रूपमा सिर्जना प्रयोग गर्ने अवस्था आउँछ ।’ 

सारंगीवादक किरण नेपाली प्रविधिको विकाससँगै स्रष्टा र कलाकारले आफूलाई समयअनुसार अपग्रेड गर्दै अघि बढ्नुपर्ने बताउँछन् । प्रविधिलाई सहयात्रीका रूपमा प्रयोग गर्न सकिने उनको भनाइ छ । उनका अनुसार अहिले एआईबाट संगीत सिर्जना भइरहे पनि नेपाली मौलिक बाजाको आफ्नै महत्व र पहिचान छ । ‘यसले मौलिकताको विकल्प दिन सक्दैन,’ उनी भन्छन्, ‘संगीतको विकास हिजोदेखि नै हुँदै आएको हो । एआईलाई प्रयोग गरेर पनि जीविकोपार्जन गर्न सकिन्छ ।’

एआईले विभिन्न बाजाको धुन बजाए पनि त्यसमा मानवीय भावना नहुने उनको भनाइ छ । ‘मौलिक बाजाको भावनासम्म एआई पुग्न सक्दैन । प्रत्यक्ष रूपमा स्रष्टाले बजाएकोजस्तो संवेदना आउँदैन । मानिसलाई सुरुमा एआई रमाइलो लाग्छ, तर बिस्तारै वाक्क लाग्छ । अन्तत: पुरानै शैली र मौलिक धुन खोजिन्छ, उनी भन्छन्, ‘एआईले स्रष्टा र कलाकारका लागि चुनौती थपे पनि रोजगार खोस्ने अवस्था हुँदैन ।’

एआईलाई मास्टर बनायौँ भने हाम्रो क्षमता सकिन्छ : प्राडा कृष्णहरि बराल, गीतकार 

हिजो रेडियो नेपालमा लाइभ गीत रेकर्ड हुन्थ्यो । वाद्यवादकले एकैचोटि बाजा बजाउँथे, गायक–गायिकाले गीत गाउँथे । गीतकार सँगै हुन्थे । भावनात्मक रूपमा सँगै बसेर एकैपटक गीत गराइन्थ्यो । बिस्तारै ट्र्याकका मेसिनहरू भित्रिए । यसले गीतकार, गायक–गायिका वाद्यवादक र संगीतकारसँगको सम्बन्धविच्छेद गरिदियो । एक्लाएक्लै स्टुडियो गएर गीत रेकर्ड गर्ने समय आयो । वाद्यवादकहरू पनि फुर्सदमा गएर बजाउने थाले । यो सब प्रविधिले बनाइदिएको हो । यसलाई स्विकार्न बाध्य भयौँ ।

क्यासेटमा गीत निस्कन थाल्यो, त्यसपछि चक्काको समय आयो । सिडीमा गीत हेर्ने समय आयो । सिडी र चक्कालाई विस्थापित गरेर पेनड्राइभको समय आयो । यसको समय सकिएपछि युट्युबजस्ता प्लेटफर्मको विकास भयो । अहिले टिकटक, फेसबुकको समय छ । विभिन्न डिजिटल प्लटफर्ममा गीत सुन्न सकिन्छ । पैसा नभएका गीतकार, गायक–गायिकालाई सजिलो बनाइदिएको छ । सजिलै र कम खर्चमा आफ्नो भावनालाई श्रोता दर्शकमाझ पुर्‍याउन सक्ने भए । आर्थिक रूपमा कमजोरलाई पनि एआईले सजिलो बनाइदियो । तर, ठुलो साधना गर्ने स्रष्टालाई ओझेलमा पार्‍यो ।

संगीतमा तपस्या गरेका, संगीतमा खारिएकाहरू ओझेल पर्न थालेको देखिन्छ । हिजो एआई नआउँदा पनि डिजिटल प्रविधिले साधना गर्नेलाई असर गरेको थियो । त्यसैको निरन्तरता अहिले एआईको समय आयो । एआईले बजाएको बाजा, गाएको स्वर, कम्पोज गरेको थाहा हुन्छ । वास्तविक गायक–गायिका र एआईको स्वर फरक हुन्छ । जो स्रष्टाले वर्षाैंदेखि संगीतमा तपस्या गरे, उनीहरूले यसैमा जीविकोपार्जन गर्दै आए, यसले उनीहरूलाई असर गरिरहेको छ ।

हामी भावनात्मक गीत लेख्छौँ । एउटा मान्छेले अर्काे मान्छेको भावना छुने गीत लेख्छौँ । तर, एआईले सिर्जना गरेको गीत त्यस्तो हुँदैन । एआई आफैँमा यन्त्र हो । यन्त्र भएकाले ऊ भावनाको गहिराइमा पुग्न सक्दैन । जो एआईमा पूर्ण रूपमा भर पर्छ, उसको सिर्जनात्मक क्षमता समाप्त हुन्छ । एआईलाई हामी काम लगाउन सक्छौँ । एआईलाई सहयोगी बनाउन सक्छौँ । तर, उसलाई मास्टर बनायौँ भने हाम्रो क्षमता समाप्त हुन्छ । सर्जकले आफूलाई जोगाउने हो ।

सुझावित समाचार